Shittalpati
‘सहकारीले अब बचत तथा ऋण कारोबार गरेर मात्र हुँदैन’

पाल्पा । तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाहीले सहकारीहरुले बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका छन् । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको प्रथम साधारण सभालाई बिहीबार तानसेनमा सम्बोधन गर्दै नगर प्रमुख शाहीले सहकारीहरुले आफ्नो क्षेत्रलाई व्यापक बनाएर जानुपर्ने भन्दै बचत तथा ऋण कारोबार मात्र गरेर नहुने बताएका हुन् । उनले सहकारीहरु बचत र ऋण लगानीमा मात्र सिमित नभई जनताको आर्थिक उपार्जनसँग जोडिने खालका क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । शाहीले नगरभित्रको कान्छो सहकारीको रुपमा रहेको आगन सहकारीले छोटो समयमा राम्रो प्रगति गरेको भन्दै सहकारीको प्रशंसा गरे । पछिल्लो समयमा नगर भित्रका कतिपय सहकारीले गुणात्मक काम नगरेको भन्दै उनले गुणात्मक कामतर्फ सहकारीले ध्यान आग्रह गरे  ।

विशिष्ट अतिथि तानसेन नगरपालिका सहकारी शाखा प्रमुख तथा वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले सहकारीहरुले संख्यात्मक भन्दा पनि गुणात्मक गतिविधिलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । उनले केही सहकारीहरु अझै पनि व्यक्तिको झोलाबाटै सञ्चालनमा रहेको बताए । ‘नगरभित्र ४९ वटा सहकारी छन्’ उनले भने ‘केही व्यक्तिको झोलामा सीमित छन् । केही खारेज हुने अवस्थामा छन् ।’ सहकारीमा आवद्ध हुने शेयर सदस्यलाई व्यावसायिक बनाउने काम सहकारीको भएको उनले बताए । जिल्ला सहकारी संघ पाल्पाका सचिव तथा संस्थाका सल्लाहकार भूपती पाण्डेयले सहकारीहरु उत्पादनमूखी भन्दा पनि सेवामूखी भएको धारणा व्यक्त गरे । सहकारीको भीडमा जन्मिएको आगन बहुउद्देश्यीय सहकारीले सदस्यको जीवनमा प्रत्यक्ष फाइदा हुने खालका कार्यक्रम गर्न उनले सुझाव दिए । कार्यक्रममा वयोवृद्ध टीकाराम बस्याल, संस्थाका कानुनी सल्लाहकार घनश्याम भट्टराई, शेयर सदस्य कृष्ण प्रसाद पाण्डे, पवित्रा खनाल लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । सहकारीका अध्यक्ष भीमलाल भट्टराइको सभापतित्व,उपाध्यक्ष गोपाल प्रसाद बस्यालको स्वागत, सचिव मिलन विश्वकर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update