Shittalpati
रामपुरमा हुन लागेको महायज्ञका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन

इमान सिं राना
पाल्पा (रामपुर) रामपुरमा निर्माणधीन नगर गौशाला तथा प्रस्तावित धर्मशाला निर्माण एवं दिगो सञ्चालनका लागि सहयोगार्थ हुन लागेको श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको छ । फागुन १२ गते देखि २० गते सम्म रामपुर ६ तातोपानी धाममा हुन लागेको महायज्ञको बारेमा जानकारी दिन श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिले पत्रकार सम्मेलन गरेको हो । गौमाताको संरक्षण, प्रवद्र्धन, छाडा छाडिएका गाईहरुको रक्षार्थ, गौशाला, गौधाम तथा धर्मशाला निर्माणको लागि हुन लागेको यज्ञको बारेमा जानकारी दिदै मूल आयोजक समितिका संयोजक एवं रामपुर ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले यज्ञको तयारी तिव्र गतिमा भैरहेको बताए ।

उनले अहिले गाईहरुको संरक्षणको लागि नगरपालिकाको सहयोगमा संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । साथै उनले गौशालालाई पर्यटकिय एवं धार्मिक स्थलको रुपमा विकास गर्नका लागि गौशाला र धर्मशाला सहितको डिपिआर तयार गरिएको बताए । यज्ञ बाट ५ करोड बढी आर्थिक सहयोग संकलन गर्ने लक्ष्य राखेको भन्दै त्यस मध्ये ३ करोडको लागतमा ३ वटा गौशालाको ट्रष्ट र झण्डै १ सयले ध्यान गर्न मिल्ने र १ सय बढी बास बस्न मिल्ने धर्मशाला निर्माण गरिने बताए । बाँकी रकमले २ करोड दिगो व्यवस्थापन गरिने बताए ।
उनले सबैलाई यज्ञमा सहभागी भएर सहयोग गर्न आग्रह गर्दै अहिले सडक स्तर उन्नति, विद्युत विस्तारको काम भैरहेको बताए । कार्यक्रममा मूल आयोजक समितिका सचिव बासुदेव ढकालले यज्ञमा धार्मिक अध्येता युवा पण्डित नारायण प्रसाद न्यौपानेको मुखार विन्द बाट प्रवचन हुने बताए । कार्यक्रममा पत्रकारहरुले यज्ञको विषयमा जिज्ञासा राखेका थिए । श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतमा भएको कार्यक्रममा सहभागीहरुलाई प्रचार समितिका संयोजक एवं नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन श्रीमद्भागवत् महापुराण नवाह ज्ञान महायज्ञ मूल आयोजक समितिका सचिव बासुदेव ढकालले गरेका थिए ।

 

प्रकाशित मिति: सोमबार, माघ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update