रमेश विश्वकर्मा
गुल्मी, करोडौका सरकारी जग्गाहरु हिनामिना भइरहेका समाचारहरु बाहिर आईरहेका बेला केही व्यक्तिहरुले भने आफ्नो निजी जग्गा स्थानीय सरकारलाई दान दिएका छन् । ठूला बढा व्यक्तिहरुले राजनीतिक पहुँचका आधारमा सरकारी जग्गाहरु आफ्ना नाममा बनाईरहँदा जिल्लाका केही व्यक्तिहरुले भने आफ्नो निजी जग्गा स्थानीय सरकारलाई दान गरेका हुन् । जिल्लाको चन्द्रकोट गाउँपालिकाको कार्यालय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् । गाउँपालिका कार्यालय भवन लगायत आवश्यक भौतिक संरचना निर्माणका लागि उनीहरूले करोडौं पर्ने आठ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन् । स्थानीय सरकार निर्माण भएको दुई वर्ष भन्दा बढी भइसक्दा समेत केही स्थानीय तहहरुले आफ्नै भवनबाट सेवा प्रवाह गर्न नसकेका बेला शान्तिपुरका स्थानीयहरुले जग्गा दान गरेका छन् ।
गाउँपालिकाका लागि आवश्यक जग्गा निःशुल्क प्राप्त भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएकाले प्रशासनिक भवन निर्माणका लागि शान्तिपुरका स्थानीयले संयुक्त रुपमा आठ रोपनी जग्गा निःशुल्क प्रदान गरेका हुन् । चन्द्रकोट गाउँपालिका ४ शान्तिपुर बजारका स्थानीय नुमकला अर्याल, बालजंग अर्याल, बाबुराम अर्याल, ज्ञानु अर्याल, प्रविन अर्याल, कमल अर्याल र प्रकाश अर्याल लगयातका अर्याल परिवारबाट पाँच रोपनी साथै उत्तम खत्रीबाट एक रोपनी, देबबहादुर कुवँरबाट एक रोपनी र टेकबहादुर गलामीबाट एक रोपनी गरी आठ रोपनी जग्गा गाउँपालिकालाई प्राप्त भएको गाउँपालिका अध्यक्ष द्रोणबहादुर खत्रीले बताए । उनका अनुसार जग्गाको मूल्य शान्तिपुर बजारमा करोडौं पर्दछ । उक्त जग्गा गाउँपालिका अध्यक्ष खत्रीको पहलमा गाउँपालिकाको प्रशासनिक कार्यालय बनाउन प्रदान गरिएको जग्गादाताहरुले बताएका छन् ।
कार्यालय बनाएपछि जग्गादाताहरुको नाम, थर शिलालेखमा लेखिने अध्यक्ष खत्रीले बताए । जग्गादाताहरुलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष खत्रीका अनुसार यस वर्ष नै सोही ठाउँमा गाउँपालिकाको बहुउद्देश्यीय सभाहल बनाइने छ । भवनका लागि पनि सरकारसँग माग गरेर सकेसम्म छिट्टै पहल गरिने उनले बताए । स्थानीय जग्गादाताहरुले स्थानीय सरकार स्थायित्व गर्न जुन तरिकाले सहयोग गरेका छन्, त्यसप्रति विशेष आभार प्रकट गर्दै गाउँपालिका सधैँ जनताको हकहितका लागि काम गरिरहेको अध्यक्ष खत्रीले बताए ।
अहिले गाउँपालिकाले चन्द्रकोटमा रहेको चन्द्रकोट क्याम्पसको प्रयोगविहिन अवस्थामा रहेको भवनलाई प्रयोग गरेको छ । उक्त भवनमा रहेका १४ वटा कोठाहरुबाट सेवा प्रवाह गर्र्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए । गाउँपालिकाले क्याम्पसलाई दुई वटा उपप्राध्यपक अनुदानमा दिने सम्झौता अनुसार उक्त क्याम्पसको भवन प्रयोग गर्दै आएको हो । जग्गा दाताहरूले मजुवास्थित मालपोत शाखा कार्यालयबाट गाउँपालिकाको नाममा जग्गा पास गरिदिएका छन् । गाउँपालिकालाई जग्गा दिन अन्य स्थानीयसमेत इच्छुक देखिएको गाउँपालिकाले जनाएको छ ।