रामचन्द्र रायमाझी
पाल्पा । कोरोना कहरका बिच आनन्द बचत तथा ऋण सहकारी संस्था तानसेनले आफ्नो दशौं साधारण सभा मनाएको छ । संस्थाको आर्थिक तथा भौतिक प्रगतिका विषयमा आफ्ना शेयर सदस्यहरुलाई जानकारी गराउने उद्देश्यले स्वास्थ्य मापदण्डको पालना गरी शनिबार साधारण सभा मनाएको हो । हरेक गतिविधिहरुलाई पारदर्शी र निष्पक्ष ढङ्गले अगाडि बढाउँदै आएको सहकारीले कोरोना कहरका बिच पनि आफ्ना शेयर सदस्यहरुलाई संस्थाको आर्थिक, भौतिक प्रगतिका विषयमा जानकारी गराएको छ । गत मंसिर २५ गतेदेखि सुझाव संकलन गर्दै आएको सहकारीले एक कार्यक्रमका बिच शनिबार वार्षिक साधारण सभा मनाएको हो । सभाको लुम्बिनी प्रदेशका सांसद डा.पुरनमान बजा्रचार्यले उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद बज्राचार्यले कृषि क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरेका छन् । उनले सहकारीले समय र आवश्यकतालाई ध्यानमा राखेर लगानी गर्न सकेको खण्डामा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । उनले भने ‘पैसा उठाउने र ऋण दिने काममा मात्रै सिमित नरही सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्दछ ।’ सांसद बज्राचार्यले प्रदेश सरकारले कृषि क्षेत्रको विकासमा १० करोड बन्दा बढी बजेट विनियोजन गरेकाले पनि सहकारीहरुले त्यसतर्फ लगानीको दायरा बढाउनु आवश्यक रहेको औल्याए । उनले दैनिक उपभोग्यका क्षेत्रमा समेत सहकारीले लगानी बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यले सहकारीलाई बैंकसँग प्रतिस्पर्धा गर्दै अगाडि बढाउन आफुहरु प्रतिवद्ध भएर लागेको बताए । उनले कोभिडका बिच पनि आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाहमा कुनै कन्जुस्याई नगरेको बताए । अध्यक्ष बज्राचार्यले शेयर सदस्यहरुको सेवालाई मध्यनजर गर्दै दुई करोड सम्मको घरकर्जा र कृषि क्षेत्रको विकासका लागि २० लाख सम्मको कार्यक्रम ल्याएको बताए । उक्त कार्यक्रम सभाबाट सर्वसमहत रुपमा समेत पारित भएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार मिनबहादुर केसीले सहकारीहरु अब एक जुट भएर अगाडि बढ्ने बेला आएको धारणा व्यक्त गरे । उनले सहकारीमा आर्थिक रुपमा विपन्नदेखि उच्च तहका व्यक्तिहरुको समेत बराबर हैसियत रहने भएकाले आवश्यकतालाई हेरेर सहकारीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।
सहकारीका संस्थापक अध्यक्ष राजेन्द्रमुनी शाक्यले सहकारीको मर्म र भावना अनुरुप संस्था अगाडि बढेको बताए । आगामी दिनमा नयाँ योजना र कार्यक्रम सहित सहकारी अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । संस्थाका उपाध्यक्ष तथा ऋण उपसमितिका संयोजक सरोजलाल शाक्यले आर्थिक रुपमा शेयर सदस्य बलियो भए मात्र सहकारी बलियो हुने बताएका छन् । उनले सहकारीलाई बलियो बनाउन आफुहरुले शेयर सदस्यहरुको आर्थिक विकासमा ध्यान दिदै आएको बताए । उनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै गत वर्षको तुलनामा ऋणको आकार बढाएको बताए । संयोजक शाक्यले आर्थिक वर्ष २०७६/०७७ मा १५ करोड ५४ लाख २४ हजार ३ सय ३९ रुपैयाँ ऋण लगानी गरेको बताए । नवजनचेतना राष्ट्रिय दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन सहकारीलाई आग्रह गरे । उनले अधिकांश सहकारीहरुले अनुत्पादक क्षेत्रमा मात्र लगानी गर्दा संस्था नै बन्द हुन पुगेको बताउदै संस्थालाई दिगो र मजबुद बनाएर लैजानका लागि उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारण व्यक्त गरे । सहकारीका शेयर सदस्य सुरेशमान बज्राचार्यले सहकारीले क्षमता र सीपको विकासलाई पनि जोड दिनुपर्ने बताए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सरविन्द्र मान बज्राचार्यले आर्थिक वर्ष २०७७/०७८ का लागि २ करोड १३ लाख बराबरको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रममा लेखा समितिका संयोजक शोभामान बज्राचार्यले लेखा समितिको प्रतिवेदन र सचिव रत्नमान बज्राचार्यले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीले असल कारोबार गर्ने ८ जना शेयर सदस्यहरुलाई सम्मान समेत गर्ने घोषणा गरेको संस्थाका व्यवस्थापक प्रकाश शर्माले बताए । कार्यक्रम संस्थाका अध्यक्ष सर्जुलाल बज्राचार्यको अध्यक्षता, सचिव रत्नमान बज्राचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।