पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले अशक्त नागरिकहरुलाई कम्बल वितरण गरेको छ । गाउँपालिकाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर विहीबार ८ वटै वडाका अशक्त नागरिकहरुलाई एक कार्यक्रमका बिच न्यानो कपडा कम्बल वितरण गरेको हो । शारीरिक रुपमा पूर्ण अशक्त भएका ६८ जना नागरिकलाई कम्बल वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कम्बल वितरण गर्दै गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले अपाङ्गता तथा फरक क्षमता भएका नागरिकहरुलाई समाजमा हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन हुन नसकेको भन्दै उनीहरुलाई सबैले सम्मान गर्नुपर्ने बताए ।
गाउँपालिका उपाध्यक्ष निर्मला भट्टराईले अपाङ्गहरुलाई पनि उच्च मनोवलका साथ जीवन जीउन अपाङ्ग मैत्री ब्यवहार गर्नु पर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गाउँपालिका भित्र बसोवास गर्ने पूर्ण अशक्त तथा घर परिवारको सहयोगमा बस्नु पर्ने अपाङ्गहरुलाई बढ्दै गएको जाडो मौसमबाट बचाउन कम्बल वितरण गरिएको बताए । कार्यपालिका सदस्य सावित्रा पन्थीको स्वागत, महिला तथा बालबालिका कार्यालयका कर्मचारी पुनम चिदीको सञ्चालनमा कार्यक्रम भएको थियो ।