पाल्पा । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरुका लागि डिजिटल सेवा लिन लागेको छ । बैंकले डिजिटल माध्यममार्फत बैंक खाताबाटै भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट–पे’ सेवा लिन लागेको हो । उक्त सेवाका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । मेगा बैंकले आफ्ना व्यवसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल माध्यममार्फत ग्राहकहरुले बैंकमा नगईकनै रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सक्ने बैंकले जनाएको छ । उक्त सेवामार्फत कनेक्ट आईपीएस अथा एनसीएचएल आईपीएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने बैंकले जनाएको छ ।
कर्पोरेट पेमा आवद्व हुनका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातको लागि स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ । त्यसपश्चात ग्राहकहरुले तोकिएको सीमा भित्र रही कुनै पनि भुक्तानीहरु बैंकको प्रत्यक्ष संलग्नता बिना गर्न सक्ने छन् । तोकिएको सीमा भन्दा बढी रकमको कारोबार गर्नको लागि बैंकले नियमानुसार थप प्रक्रिया पूरा गरेपश्चात गर्न मिल्ने व्यवस्था रहेको छ । यस प्रणालीमा पहुँच पाउन मल्टी लेयर अथेन्टिकेसनको सुरक्षित व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट तथा स्वीकृत ग्राहक आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र गर्न पाउने गरी यस प्रणालीमा सुरक्षाको व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।