Shittalpati
उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व, वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

पाल्पा । नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । महासंघको मंसिर ११ देखि १३ गतेसम्म सम्पन्न भएको ५४ औं वार्षिक साधारणसभा तथा अधिवेशनले नयाँ नेतृत्व पाएको हो । महासंघले शेखर गोल्छाको नेतृत्वमा ६४ सदस्य नयाँ नेतृत्व पाएको हो । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधानअनुसार अब गोल्छाले महासंघको नेतृत्व सम्हाल्ने छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल विजयी भएका छन् । ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई भारी मतले पछि पार्दै ढकाल निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी भएसँगै उनी शेखर गोल्छा पछिको आगामी कार्यकालका लागि अध्यक्ष समेत हुने पक्का भएको छ । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष आगामी कार्याकालको स्वत अध्यक्ष हुने प्रावधान छ ।

आइतबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार ढकालले ६ सय ३३ मत ल्याए । उनका प्रतिद्वन्द्वी प्रधानले ४ सय ६७ मत ल्याएका छन् । प्राप्त मतगणना अनुसार एशोसियट उपाध्यक्षमा रामचन्द्र संघाई विजयी भएका छन् । उनले आफ्ना प्रतिष्पर्धी सौरभ ज्योतीलाई पराजित गरेका हुन् । त्यसैगरी एशोसियटको कार्यसमितिमा सबैभन्दा बढी ८०२ मत सहित अम्बिकाप्रसाद पौडेल सहित १८ जना निर्वाचित भएका छन् । पौडेल एशोसियटतर्फ म्यान अफ द इलेक्सन हुँदै निर्वाचित भएका हुन् । पौडेल चन्द्रप्रसाद ढकाल समूहबाट एशोसिएट सदस्यमा चुनाव लडेका थिए ।

जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ५८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी ढकाल समूहबाट उम्मेदवार बनेका गुणनिधि तिवारीले ४७ मत ल्याए । जिल्ला नगरका अधिकांश सदस्यमा प्रधान समूहबाट निर्वाचित भएका छन् । प्रधान प्यानलका ११ जना र ढकाल प्यानलबाट ७ जना जिल्ला नगर सदस्यमा निर्वाचित भएका हुन् । जिल्ला तथा नगरको सदस्यमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, शोभकान्त पौडेल, कमल श्रेष्ठ, गजेन्द्र भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देव कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, कमनबहादुर खड्का, सुरकृष्ण वैद्य, कुबिर कुमार श्रेष्ठ, डिबी बस्नेत, उमेश डालमिया, किशोर कुमार आचार्य, महेन्द्र कुमार श्रेष्ठ, अमृत भट्टचन, र गोपाल कौडिया निर्वाचित भए । वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।

यस्तै जिल्ला/नगरतर्फबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेशका कोषाध्यक्ष मोहनप्रसाद श्रेष्ठ छिनो मतले पराजित भएका छन् । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल प्यानलबाट उनी चुनावी मैदानमा उत्रिएका थिए । सदस्यका उम्मेदवार श्रेष्ठ डेढदशकदेखि नै जिल्लाका उद्योगी व्यवसायीहरुको हितमा काम गर्दै आएका छन् । होटल व्यवसायी समेत रहेका श्रेष्ठ सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । उनी अत्यन्त मिलनसार स्वाभावका व्यवसायीका रुपमा परिचय बनाएका व्यक्ति हुन् । उनले मतपरिणाम सार्वजनिक भएपछि एक मत कम भएर उपविजेता भएको जनाएका छन् । पराजित भएपछि श्रेष्ठले सामाजिक सञ्जालमा आफुलाई अमूल्य मत प्रदान गर्नेहरुलाई कृतज्ञता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्‘ देशैभरीका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्यूहरूले आफ्नो अमुल्य मत प्रदान गर्नु भएर मात्र एक मत कम भएर उपविजयी भएकोमा मलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग तथा शुभेच्छा राख्नु हुने महानुभाबहरूमा हार्दिक आभार सहित कृतज्ञता ब्यक्त गर्न चाहन्छु । आगामी दिनहरूमा यहाँहरूको साथ समर्थनको पनि अपेक्षा राख्दछु ।’

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update