पाल्पा, संघीय सांसद तथा पूर्व उद्योगमन्त्री सोम प्रसाद पाण्डेयले सञ्चार माध्यमको भूमिका प्रतिपक्षी, सरकार र जनप्रतिनिधीलाई सचेत बनाउने रहेको बताएका छन् । प्रेस संगठन नेपाल पाल्पाको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै सांसद पाण्डेले तीनै तहका सरकार र जनप्रतिनिधिलाई सचेत बनाउने काममा सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् । उनले सरकार र सञ्चार माध्यम बीचको समन्वय कम भएको भन्दै सञ्चार माध्यमसँग तीनै तहका सरकारहरु सहकार्य जानुपर्नेमा जोड दिए । सांसद पाण्डेयले स्थानीय तहमा समस्या मात्र नभई र राम्रा कामहरु पनि भएको भन्दै सबै विषयलाई जस्ताको तस्तै उजागर गर्न सबै सञ्चार माध्यमहरुलाई आग्रह गरे ।
प्रदेश सांसद वसन्त घर्तीले अध्ययन विना कोहि पनि सक्षम नेतृत्वकर्ता हुन नसक्ने बताए । उनले राजनैतिक नेतृत्वले कहिल्यै पनि मिडियालाई अपमान नगरेको भन्दै कहिलेकाही गल्ती भएको हुनसक्ने धारणा व्यक्त गरे । प्रदेश सांसद नारायण आचार्यले व्यवस्थित रुपमा योजना बनाएर अगाडि बढे संभावना धेरै रहेकोमा जोड दिए ।
तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहिले हरेक समस्याको समाधान गर्ने विषयमा पत्रकारहरुसंग छलफल गर्न आफुहरु तयार रहेको बताए । पत्रकार महासंघका जिल्ला अध्यक्ष राजेश कुमार अर्यालले जनप्रतिनिधिले मिडिया प्रवद्र्धन र व्यवस्थापनमा मुख्य ध्यान दिनुपर्नेमा जोड दिए । प्रेस संगठन प्रदेश पाँचका सहसंयोजक मान सिंह विकले संगठनको एकता प्रक्रिया सुरु भईसकेको भन्दै एकजुट हुनुपर्ने बताए । नेकपा प्रचार विभाग प्रमुख गुरास आत्रेयले पत्रकारले जुनसुकै परिस्थितिमा व्यवसायिक धर्म छाड्न नहुने धारणा व्यक्त गरे । वरिष्ठ पत्रकार मेघराज शर्माले पत्रकारिताको पछिल्लो पुस्तामा अनुशासनको कमि देखिएको बताए । प्रेस संगठनका केन्द्रिय सदस्य रुद्रहरी कुँवरले संगठनको गरिमा उँचो राख्नेगरी काम गर्न सबैलाई अनुरोध गरे ।