विष्णु पाण्डेय
पाल्पा, पाल्पा र स्याङ्जा जोड्ने रानीमहल नजिकैको मोटरेबल पुल सञ्चालनमा आएपछि स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका स्थानीयले राहत महसुस गरेका छन् । पश्चिम नेपाल बस व्यावसायी प्रालि र श्रीनगर बस व्यावसायी प्रालिले बस सञ्चालनमा ल्याएपछि स्थानीयले राहतको महसुस गरेका छन् । बस पुगेपछि यात्रामा सहज भएको छ । पश्चिम नेपालले ३ वटा बस सञ्चालनमा ल्याएको छ, भने श्रीनगरले एउटा बस सञ्चालमा ल्याएर स्थानीयलाई सेवा दिएको हो ।
पश्चिम नेपाल वस व्यावसायी प्रालिको बस हटियाबाट प्रत्येक दिन विहान ६ः३० बजे,हटिया खोर्दि,प्यूँघा,रानीमहल,दैलातुङ,तानसेन हुँदै बुटवलको लागि छुट्ने छ, भने श्रीनगर वस व्यावसायी समितिको बस प्रत्येक दिन विहान ७ः४५ माकालावडारबाट कालावडार ,प्यूघा,रानीमहल,हात्तिढुङ्गा,अवहल ,तानसेन हुँदै बुटवलका लागि छुट्ने समितिले जनाएको छ ।
बुटवलबाट प्रत्येक दिन पश्चिमाञ्चलको १२ बजे र श्रीनगरको १ बजे बस छुट्ने छ । मोटरेबल पुल सञ्चालनमा आएपछि स्थानीयलाई यातायातमा सहजता भएको र स्थानीय उत्पादनलाई बजारिकरण गर्न सहज भएको कालिगण्डकि गाउपालिका १ का वडा अध्यक्ष सोभिलाल चौतारेले बताए । यातायात व्यावसायी,जनप्रतिनिधि,सरोकारवाला निकाय बीच छलफल पश्चात् भाडादर निर्णय गरिएको वडा अध्यक्ष चौतारेले जानकारी दिए । अब हटियादेखि रानीमहल हुँदै बुटवलसम्मका लागि तीन सय २० लाग्ने पश्चिम नेपाल यातायात प्रालिका सवारी चालक शंकर न्यौपानेले बताए । यसअघि स्थानीयहरु बुटवल जानका लागि १ घण्टाको पैदल हिडेर अर्गली आएर यात्रा गर्नुपर्ने र मिर्मि राम्दि हुँदै लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो । छोटो दुरीको यात्रा गर्न पाउँदा स्थानीय हर्षित छन् ।