पाल्पा, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून)को सूचना तथा सञ्चार उपसमितिमा जगदीश भट्टराई चयन भएका छन् । संघको सञ्चालक समितिको बैंठकले पाल्पा जिल्ला बचत संघ लि.का अध्यक्ष तथा नवजनचेतना दैनिकका सम्पादक भट्टराईलाई सूचना तथा सञ्चार उपसमितिको सदस्यमा चयन गरेको हो । नेफ्स्कूनले पत्र पठाउदै भट्टराईलाई सूचना तथा सञ्चार उपसमितिको सदस्यमा मनोनयन गरेको जनाएको छ ।
भट्टराई पत्रकारितासँगै सहकारी अभियानमा क्रियाशिल रहदै आएका छन् । संघले सूचना तथा सञ्चार उपसमितिको संयोजकमा नेफ्स्कून सञ्चालक समितिका सदस्य चन्द्र प्रसाद ढकाल, सदस्यहरुमा रिलायवल बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंका विपिन शर्मा,काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघका सालिकराम पुडासैनी र इलाम जिल्ला बचत संघ लिका लिला थापालाई समेत मनोनयन गरेको हो । मनोनित सदस्यहरुले संघको गठित उपसमितिका संयोजक ढकालको समन्वयमा रही नेफ्स्कूनमा शिक्षा, तालिम लगायत उत्पादन तथा सेवाहरुको प्रवद्र्धन गर्नृुपर्ने संघले जनाएको छ ।
नेफ्स्कून विगत करिब ३ दशक देखि बचत तथा ऋण सहकारी अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील बचत तथा ऋण सहकारी संस्था र संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय संघ हो । यस केन्द्रीय संघमा नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने करिब ३ हजार ७ सय बचत तथा ऋण सहकारी संस्थाहरु, ६३ वटा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेका छन् ।
करिब ३१ लाख व्यक्तिगत सदस्यहरु रहेको यस अभियानको केन्द्रीय संघ वि.सं. २०५५ सालदेखि एशियाली ऋण महासंघको सदस्य हुँदै विश्व ऋण परिषद्को सदस्य समेत हो । संघले दर्जनौ विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसँगको साझेदारीमा बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।