Shittalpati
सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबाको वैकल्पिक मार्ग बन्ने

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाभित्र पर्ने सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको छ । संघीय, प्रदेश र रैनादेवी छहरा सरकारको समपुरक बजेटमार्फत पिचको कार्य अगाडि बढेकाले पाल्पा सहित गुल्मी, अर्घाखाँची, रुपन्देही, बागलुङ लगायत जिल्लाका नागरिकहरुका लागि सुन्दरे ढुङ्गा–सालझण्डी सडक सिद्धबाबा सडकको वैकल्पिक मार्ग बन्ने भएको हो ।

रैनादेवी छहरा गाउँपालिकाको सुन्दरे ढुङ्गादेखि नेपाने, जुठापौवा, सत्यवती, बल्डेङ्गढी हुँदै रुपन्देहीको सालझण्डी सम्मको ३ किलोमिटर सडकको कालोपत्रे (पिच)को काम अहिले अगाडि बढेको छ । यो सडक पिच भएपछि हिउँद्, वर्षा जुनसुकै समयमा पनि यातायात सहज रुपमा सञ्चालन हुने छन् । रैनादेवी छहरा गाउँ सरकार र गौरीशंकर हिमालयन कन्ष्ट्रकसन बिच ८ करोड ४५ लाख, ३७ हजार लागतमा उक्त सडकको कालोपत्रे गर्नका लागि सम्झौता भएको छ । सम्झौता भएको १८ महिना अर्थात् २०७८ पौष ५ गते उक्त कालोपत्रे सक्नुपर्ने गरी काम अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।

मृत्यु मार्गको रुपमा रहेको सिद्धबाबा सडकको विकल्पका रुपमा यो सडक निर्माण हुने गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । उनले भने ‘पालिकाको गौरबको आयोजनाका रुपमा रहेको यो सडक पिच भएपछि पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देहीका अधिकांश क्षेत्रका नागरिकहरुलाई सहज हुनेछ ।’ गाउँपालिकाको धार्मिक, साँस्कृतिक र पर्यटन सर्किट मार्ग बनाउने उद्देश्यले यस सडक खण्डको कालोपत्रे गर्ने काम सञ्चालन भएको गाउँपालिकाका प्रवक्ता विष्णु पोख्रेरलले बताए । उनले भने ‘मृत्यु मार्गका रुपमा रहेको सिद्धबाबा सडकको प्रयोग नै नगरी बाहिरबाट आउने नागरिकहरु सहजै यो मार्गको प्रयोग गरी गुल्मी, अर्घाखाँची, स्याङ्जा, पाल्पा आवतजावत गर्न सक्छन् ।’

रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, तानसेन नगरपालिका, अर्घाखाँची, गुल्मी जिल्लाका फेदी क्षेत्रका नागरिकहरुलाई यो सडक पिच भएपछि बुटवल आवत–जावतका लागि सहज र सुरक्षित मार्गको रुपमा रहने छ । त्यस्तै पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाका मानिसहरुलाई भारत जान कृष्णनगर नाका पहुँचका लागि पनि यो सडक छोटो, छिटो र सुरक्षित मार्ग हुने भएकाले पनि यस क्षेत्रका नागरिकहरुका लागि लाईफलाईन सावित हुनेछ । भारत लगायत तेस्रो मुलुकबाट निकट भविष्यमै भैरहवामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आउने धार्मिक पर्यटकहरुलाई रुरु क्षेत्र, ऋषिकेश महादेव मन्दिर हुँदै मुक्तिनाथसम्मको भ्रमण, अवलोकनका लागि पनि यो सडक छोटो र सुरक्षित मार्ग सावित हुने भएकाले रैनादेवी छहरालाई पर्यटकी क्षेत्रको विकासमा टेवा पुग्ने नेपाली काँग्रेसका प्रदेश सांसदका उम्मेदवार राम कार्कीले बताए । कालोपत्रेको काम सुरु भएसँगै त्यस क्षेत्रका नागरिकहरु उत्साहित भएका छन् । गाउँघरमा उत्पादन गरेका कृषि जन्य वस्तुहरु सहजै बजारसम्म पु¥याउन सहज हुने भन्दै नागरिकहरु उत्साहित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेतबहादुर खत्रीले बताए ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update