Shittalpati
जेल भित्रै बन्दी बनाइएपछि ...

जगदीश भट्टराई

पाल्पा । पाल्पा कारागारमा बन्दी जीवन विताई रहेका बन्दी नाईकेहरुलाई त्यहाँका बन्दीहरुले कारागार भित्रै बन्दी बनाएका छन् । कारागारका बन्दीहरुको लागि समान किन्ने र उनीहरुलाई सहयोग गर्ने उद्देश्यका साथ असल आचरण भएका बन्दी मध्येबाट दाई नाईके र भाइ नाईके गरेर उनीहरुको नेतृत्व गर्ने जिम्मेवारी पाएका केही नाईकेहरुलाई बुधबार विहानैदेखि साझ अवेरसम्म बन्दी बनाईएको समाचार एनजेडी र शित्तलपाटी डटकमको टिमले प्राप्त गरेको छ । जेलका दाई नाईके र भाइ नाईके दुवै जनाले जेल प्रशासनको मिलोमतोमा विभिन्न किसिमका समान खरिद गर्ने क्रममा कमिसन लिने र कैदी बन्दीहरुलाई अनावश्यक दुख दिने गरेका कारण बन्दीहरुले नै उनीहरुलाई बन्दी बनाएको बुझिएको हो । समस्या समाधानका लागि पटक–पटक जेल प्रशासनसँग अनुरोध गर्दा समेत प्रशासनले वेवास्ता गरे पछि दाई नाईके र भाई नाईकहरुलाई कारागार भित्रै बन्दी बनाइएको एक प्रत्यक्षदर्शीले बताएका छन् । उनका अनुसार बन्दीहरुले कारागार भित्रै समस्याको समाधान गर्नुपर्ने माग सहित नारावाजी समेत गरेका थिए ।

कारागारमा भएको घटनाको विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेसँग सम्पर्क गर्न खोज्दा आफु विदामा भएको र सो विषय जेलरसँग नै बुझ्दा राम्रो हुने बताए । सो विषयमा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष कुमार भट्टराईले भने मंगलबार साँझ भित्र छिरेका दाई नाईके र भाइ नाईकेलाई बुधबार सोही समयदेखि बुधबार दिउँसोसम्म कारागार भित्रै बन्दी बनाई घेराहालेर राखेका कारण बुधबार दिउँसो प्रशासनको आग्रहमा उनीहरु दुवैलाई घेरा मुक्त गरिएको जानकारी दिए । उनले भने ‘बन्दीहरु बिच पहिलादेखि नै विवाद हुने गरेको र सो वार्ताको माध्यमबाट समाधान पनि हुँने गरेको छ ।’

पाल्पा कारागारका जेलर भक्तिसरा रानासँग सम्पर्क गर्दा सानोतिनो विवाद थियो, समाधान भयो, बन्दी बनाईकाहरुलाई प्रहरी बोलाएर मुक्त गराईइको छ, अब कुनै पनि समस्या छैन् भन्ने जवाफ दिइन् । यहाँ प्राय नाइके र बन्दिहरु बिच झडप हुँदै आएको छ । नाईके समूहबाट आफूहरु पीडित भएको भन्दै बन्दीहरुले बेला बेलामा झडप गर्दै आएका छन् ।

नाइकेले प्रसाशनको मिलेमतोमा सरकारले उपलब्ध गराएको सेवा सुविधा नदिने तथा मनोमानी गर्ने गरेको बन्दीहहरुले बताउदै आएका छन् । उनीहरुले नाईकेहरूले मनोमानी सामनहरूमा मूल्य लिने, ड्रग्स सेवन गरी कुटपिट गर्ने गरेको समेत आरोप लगाएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update