रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा चालु आर्थिक वर्षको तीन महिनामा १ हजार २ सय ९१ सवारी साधन कारबाहीमा परेका छन् । नियम विपरीत सञ्चालित सवारी साधनहरू कारबाहीमा परेका हुन् । कारबाहीबाट ९ लाख ७५ हजार जरिवाना असुल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ । कोरोनाका कारण सरकारले लागु गरेका मापदण्ड विपरीत चलेका सवारीसाधन, सिट क्षमता भन्दा बढी यात्रु बोकेर यात्रा गराउने सवारीसाधन, सवारी साधन अनुमती पत्र नभईकन सवारी चलाउने तथा नियमविपरीत चल्ने सवारीसाधनलाई कारबाही गर्दा उक्त राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक जगन्नाथ पाण्डेले जानकारी दिए । उनका अनुसार कारबाहीमा पर्ने गाडीहरुमा ठूला ट्रकदेखि मोटरसाईकल र स्कुटरसम्म छन् । यी गाडीलाई कारबाही गरेर प्रहरीले ३ महिनामा ९ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको छ । साउन माहिनामा २ सय ४१ सवारी कारबाहीबाट २ लाख ७५ हजार ५ सय, भदौ महिनामा ४ सय ५० सवारी कारबाहीबाट २ लाख ७९ हजार र असोज महिनामा सबैभन्दा धेरै ६ सय सवारी कारबाहीबाट ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको हो । साउन महिनामा सबैभन्दा धेरै मोटरसाइकल कारबाहीमा परेका छन् । २ सय ९ मोटरसाइकल कारबाहीबाट १ लाख २३ हजार ५ सय राजस्व संकलन भएको छ । त्यस्तै जिप तथा कार १ सय ७५ कारबाहीमा परेका छन् । जसबाट १ लाख ७ हजार राजस्व संकलन भएको छ । ट्रक २८ वटा कारबाहीमा परे । जसबाट १९ हजार राजस्व संकलन भएको छ । ट्याक्टर पनि २८ वटा कारबाहीमा पर्दा १७ हजार राजस्व संकलन भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । साउन महिनामा नै १० वटा बस कारबाहीमा पर्दा ६ हजार राजस्व संकलन भएको थियो ।
त्यस्तै भदौ महिनामा सबैभन्दा धेरै २ सय ४२ मोटरसाइकल कारबाहीमा परेका थिए । उक्त कारबाहीबाट १ लाख ५७ हजार ५ सय राजस्व संकलन भएको थियो । त्यस्तै १ सय २६ वटा जिप तथा कार कारबाहीमा परेर ७४ हजार ५ सय राजस्व संकलन भएको थियो । ३८ वटा ट्याक्टर कारबाहीबाट २१ हजार ५ सय, ३६ वटा ट्रक कारबाहीबाट २१ हजार र ८ वटा बस कारबाहीमा पर्दा ४ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याड्ढमा उल्लेख गरिएको छ । असोजमा सबैभन्दा धेरै सवारी कारबाहीमा परेका छन् । असोज महिनाभर साना तथा ठूला सवारी गरी कूल ६ सय सवारी कारबाहीमा परेका हुन् । सबैभन्दा धेरै २ सय ८९ वटा जिप तथा कार कारबाहीमा परी २ लाख ७ हजार ५ सय राजस्व संकलन भएको छ । १ सय ९७ मोटरसाइकल कारबाहीबाट १ लाख ३९ हजार, ४८ वटा ट्याक्टर कारबाहीबाट २८ हजार, ३४ वटा ट्रक कारबाहीबाट २० हजार र ३२ वटा बसमा कारबाहीमा पर्दा २९ हजार राजस्व संकलन भएको छ । असोज महिनामा मात्र सबैभन्दा धेरै ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको तथ्याड्ढमा उल्लेख छ ।
जिल्लामा सवारी कारबाहीको दर विस्तारै बढ्दै गएको छ । बढी सवारी कारबाहीमा परेपछि बढी नै राजस्व संकलन भएको छ । सुरक्षित यात्राको लागि सवारी चेकजाँचमा ट्राफिक प्रहरीको सक्रियता बढेपछि धेरै सवारी कारबाहीमा परेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयसँगै जिल्ला प्रहरी कार्यालय सहितको सक्रियतामा मनपरी भाडा लिने सवारी र बढी यात्रु बोकेर यात्रा गराउने सवारीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो । जिल्लाको सदरमुकाम तम्घासबाट ग्रामीण भेगमा जाने सवारी सिमित भएकाले सवारीसाधन बढी यात्रु बोक्न बाध्य भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हवल्दार नविन भण्डारीले बताए । उनका अनुसार एउटै सवारीसाधन बारम्बार कारबाहीमा पर्दा कारबाहीको संख्या धेरै भएको हो । सबै सवारीसाधन नियमअनुसार चलेर यात्रुलाई सुरक्षित यात्रा गराउनको लागि सवारी चेकजाँचमा कढाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।