रमेश विश्वकर्मा
गुल्मी । नेपाली समाजमा दलित भन्ने बित्तिकै हेपा प्रवृत्तिले हेर्ने प्रचलन रहेको छ । दलित भएकै कारण गैरदलित समुदायले उनीहरुले छोएको पानी समेत खान मान्दैनन् । एकाइसौं शताब्दीमा आइपुग्दा पनि अझै दलितहरु गैरदलितबाट अपहेलित जीवन बिताइरहनु परेको छ । नेपालमा जातीय विभेद विरुद्धको कानुन भएपनि त्यसको कार्यान्वयन नहुँदा दलितहरु पीडित भइरहेका छन् । राजनीतिक दलहरुले सत्तामा पुगेपछि दलितका मुद्दा बिर्सर्ने परिपार्टीले गर्दा दलितको समस्या अझै समाधान हुनसकेको छैन । आधुनिक समयमा आईपुग्दा अझै पनि दलितहरु अपहेलित भईरहेका बेला गुल्मीमा एक गैरदलितले दलितको हातबाट दसैँको टिका लगाएर दलितको सम्मान गरेका छन् । धुर्कोट गाउँपालिका ३ हाडहाडेका छन्द बहादुर पहराईले जिल्लाका दलित समुदायका जेष्ठ नागरिकको हातबाट टीका लगाएका हुन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत रहेका पहराईले छिमेकी गोर बहादुर दर्जी, राम बहादुर दर्जी, गोपाल दर्जी लगायतका दलित समुदायको हातबाट दसैँको टीका ग्रहण गरेका छन् । समतामूलक समाज निमार्ण गर्न पहराईले दर्जीको घरमा गएर दशैंको टीका र आर्शिवाद लिएका हुन् । समाजमा अझै पनि दलितलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएकाले दर्जीको हातबाट टीका ग्रहण गरेको पहराई बताउँछन् । पहराई विगतका वर्षहरुमा आफन्तजनसँग मात्र दसैँमा टीका ग्रहण गर्थे । सानैदेखि समाजमा जातीय विभेद रुपी विसंगति देखेर
हुर्केका पहराई यसलाई हटाउने परिकल्पना गर्दथे ।
उनको त्यही दृढ सोँच, सङकल्प र साहसले सामाजमा विद्यमान रहेको जातीय बन्धनको घेरालाई तोड्दै यसपालिको दसैँमा पहराईले दलित समुदायका अग्रजबाट दसैँको टीका, जमरा र आर्शिवाद ग्रहण गरे । ‘दलित समुदायको विवाहमा जन्त जाँदा पहिलो पटक टीका लगाएको थिए । तर विजया दशमीको टीका मेरो लागि पहिलो पटक हो, दुई तीन वर्ष अगाडि देखि नै लगाउने मन थियोे तर लगातार टीका रोकिएकाले यो अवसर प्राप्त गर्न पाएको थिएन् ।
अहिले मौका पर्यो’ पहराईले भने । ‘पहिला त टीका ग्रहण गर्छु भन्दा कसैले पत्याउनु भएन । ख्याल् ठट्टा मान्नु भयो पहराईले भने, ‘साँच्चै टीका लगाउँदा आर्शिवादको बर्साद भयो ।’ आफु गैर दलित भए पनि समाजमा अछुत बनाई तल्लो पारिदैँ आएका दलित समुदायको हातबाट टीका ग्रहण गर्न पाउँदा निकै खुसी लागेको नेता पहराईले सुनाए । मानव–मानव सबै समान भएपनि समाजमा अत्यन्तै अमानवीय सामन्ती संस्कारको कारणले यस्तो विसंगतिको अवशेष रहेको उल्लेख गर्दै उनले अहिले पनि समाजले हिम्मत गर्न नसकेको बताए । आफू नेपाली काँग्रेसको ईमान्दार सिपाही भएको उल्लेख गर्दै पहराईले भने, ‘नेपाली काँग्रेस आफैंमा सामाजिक आन्दोलन हो । सबै किसिमको विभेदको विरुद्धमा नेपाली काँग्रेस उभिनु पर्छ ।’ नेता पहराईले आगामी वर्षहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।