Shittalpati
माथागढीमा अवरुद्ध टेलिकम टावर बनेसँगै सञ्चारमा सहज

पाल्पा । बर्खा लागेसँगै अवरुद्ध बनेको माथागढी गाउँपालिका वडा नं. ६ भुटुकेमा रहेको नेपाल टेलिकमको टावर अहिले सञ्चालनमा आएको छ । लामो समयपछि टावर मर्मतसंभार गरेपछि अहिले सेवा सञ्चालनमा आएको हो । बर्खाको समयमा भुटुकेमा रहेको जलविद्युत्को बाध भत्किएपछि नियमित रुपमा विद्युत् आपूर्ति हुन नसक्दा नेपाल टेलिकमको नेटवर्क अवरुद्ध बनेको थियो । नेटवर्क अवरुद्ध बनेपछि नवलपरासीका केही स्थान र माथागढी गाउँपालिका वडा नम्वर ५ र ६ का नागरिक सञ्चार विहिन बन्न पुगेका थिए ।

नेपाल टेलिकम पाल्पाले टावरमा सोलार जडान गरेपछि अहिले सञ्चारमा सहज भएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘टावरमा सोलार जडानसँगै हिजो आज मोबाइल नेटवर्क र इन्टरनेट सञ्चालनमा आइसकेको छ’, उनले भने, ‘टेलिकमका साथै अन्य सेवा प्रदायक दूरसञ्चार कम्पनीले समेत अझै सेवा प्रभावकारी बनाउनुपर्छ ।’ यहाँका स्थानीयलाई सदावाहार सूचना तथा सञ्चारको पहुँचमा राख्न यसले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष थापाले बताए ।

भुटुकेमा रहेको मोवाईल रिपिटर टावरमा विद्युत आपूर्ति नहुँदा त्यस आसपास क्षेत्रमा रहेको मोवाईल टावर केहि समय यता बन्द रहेका थिए । टावर अवरुद्व हुदा त्यस क्षेत्रका नमस्ते मोवाईल प्रयोगकर्ताहरु सञ्चार सेवाबाट बञ्चित भएका थिए । नेपाल टेलिकमले उक्त टावरमा सोलार जडान गरेपश्चात मोवाईल टावरहरु सञ्चालनमा आएका हुन । नेपाल टेलिकमका प्रमुख ढाकाराम पौडेलले टावरमा सोलार जडानसँगै बारम्बार टावर अवरुद्ध हुने समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: बुधबार, असोज २८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update