पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका भित्रिने सबैजनाले कोरोना पिसीआर टेस्ट रिपोर्ट अनिवार्य ल्याउनु पर्ने छ । गाउँ सरकारले भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट आउँदा पिसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गराएसँगै गाउँपालिका प्रवेश गर्नेले पिसीआर अनिवार्य गर्नुपर्ने भएको हो । पछिल्लो समय कोरोना संक्रमण मात्र नभई लक्षणसहितका संक्रमित बढ्न थालेपछि गाउँपालिकाले प्रवेश गर्ने जोकोही व्यक्तिले पिसिआर टेस्टको रिपोर्ट अनिवार्य देखाउनुपर्ने निर्णय गरेको जनाएको छ । गाउँपालिका संघीय सरकारको स्वास्थ्यसम्बन्धी नयाँ मापदण्ड अनुसार कार्यान्वयन गर्ने गराउने, भौतिक दूरी कायम गर्ने कार्य कडाइका साथ लागु गर्ने गरी अगाडि बढेको हो । गाउँपालिकाले एक सूचना जारी गर्दै पिसीआर नेगेटिभ रिपोर्ट नल्याउने ब्यक्ति तोकिएको क्वारेन्टिनमा अनिवार्य १४ दिन बस्नुपर्ने जनाएको छ । नेपालीहरुको महान चार्ड दशैं नजिकिँदै जाँदा भारत लगायत विदेशी मुलुक तथा देश भित्रका कोरोना जोखिम स्थानहरुबाट भित्रिनेहरुको संख्या बढ्दो क्रममा रहेकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि यस्तो निर्णय गर्नुपरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरुद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा कोरोना जोखिम रहेका स्थानबाट आउने ब्यक्ति सोझै घर र समुदायस्तरमा घुलमिल हुँदा कोरोना भाईरस समुदायस्तरमा फैलन सक्ने जोखिम उच्च भएकाले अनिवार्य रुपमा पिसीआर परीक्षण गराई ७२ घण्टा भित्रको पिसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई आउनुपर्ने उल्लेख गरिएको छ । रिपोर्ट नलिई आउने र उनीहरुलाई लुकिछिपी प्रवेश गराउने जो कोहीलाई पनि संक्रमण रोग ऐन, २०२० बमोजिम कारबाहीका लागि सिफारिस गरिने समेत गाउँपालिकाले जनाएको छ ।