रमेश विश्वकर्मा
गुल्मी । गुल्मीदरबार गाउँपालिकाले पालिकाभित्र रहेका बजारमा सञ्चालित खाद्यान्न, किराना, औषधी पसल, होटल लगायतको अनुगमन गरेको छ । गाउँपालिका उपाध्यक्ष मीना भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डे, सुरक्षाकर्मी, पत्रकार सहितको उपस्थितिमा गाउँपालिकाका कर्मचारीहरुको भिन्न–भिन्न समूह निर्माण गरी बजार अनुगमन गरिएको हो ।
बजार अनुगमनको क्रममा शहरी र ग्रामीण क्षेत्रका २ सय २१ वटा विभिन्न पसलहरुमा अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । अनुगमनको क्रममा म्याद गुज्रेका खाद्य पदार्थ, मसलाजन्य पदार्थ, कस्मेटिक सामग्री, पेय पदार्थ, म्याद गुर्जेका पेन्टहरु, टुथ पेस्टहरू, विद्यालयको १ सय मिटरको क्षेत्र भित्रका पसलहरुबाट चुरोट तथा सूर्तिजन्य सामग्रीहरू भेटिएकाले अनुगमन टोलीले जफत गरेको उनले बताए । करिब २ लाख बराबरको म्याद गुज्रेका सामग्रीहरु जफत गरिएको छ । ती सबैलाई सरोकारवालाहरु सबैको रोहवरमा नष्ट गर्ने पाण्डेले बताए ।
म्याद गुज्रेका सामग्री विक्री वितरणको लागि राखिएका ५९ वटा पसलहरुबाट सामग्री जफत गरी जरीवाना रकम असुल गरिएको छ । प्रथम पटकको लागि पाँच सय रुयैयाँ जरिवाना रकम लिईएको पाण्डेले बताए । उनले आगामी दिनमा समेत यस्तै प्रकृति दोहोरिएमा ६ हजार रुपैयाँसम्म जरीवाना लिने कार्यविधि जारी गरिएको जानकारी दिए । तसर्थ यसो नगर्न र जुन व्यवसाय सञ्चालन गर्ने भनेर अनुमती लिईएको छ सोही प्रकारको सामग्रीहरू मात्र बेचबिखन गर्न सम्पूर्ण व्यवसायीहरुलाई पालिकाले आग्रह गरेको छ । पालिकाभित्र सञ्चालनमा रहेका व्यवसाय दर्ता नगरी सञ्चालन गरेका व्यवसायहरु तथा नविकरण नगरेका पसलहरुलाई सात दिनभित्र व्यवसाय दर्ता तथा नविकरणको लागि पत्र समेत काटिएको छ ।
असोज १९ गतेदेखि सुरु भएको बजार अनुगमन पश्चात असोज २६ गते सम्म पालिकामा एक सय १० वटा विभिन्न पसलहरु दर्ता नविकरणको लागि आएका छन् भने दैनिक ३०/४० वटा पसलहरु दर्ता तथा नविकरण भइरहेको गाउँपालिकाले जनाएको छ । नागरिकहरुले स्वस्थ र गुणस्तरयुक्त सामग्रीहरु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न बजार अनुगमन गरिएको र यसलाई २/३ महिनामा निरन्तर बजार अनुगमन गरिने व्यवस्था मिलाईएको छ । दर्ता नगरेका सम्पूर्ण व्यवसायीहरुलाई असोज महिनासम्म दर्ता गर्न गाउँपालिकाले आग्रह गरेको छ । अनुगमनको क्रममा बाँकी रहेका र बन्द भएका बजार क्षेत्र र ग्रामीण क्षेत्रका पसलहरूको पनि जुनसुकै समयमा अनुगमन हुने गाउँपालिकाले जनाएको छ ।