Shittalpati
पाल्पा जिल्ला फुटबल संघद्वारा खेलाडीलाई राहत

पाल्पा । पाल्पा जिल्ला फुटबल संघले कोरोना भाईरसका कारण समस्यामा परेका खेलाडीहरुलाई राहत वितरण गरेको छ । संघले आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरी ३३ जना वर्तमान, पूर्व खेलाडीहरुलाई राहत स्वरुप रकम वितरण गरेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)बाट प्राप्त ७५ हजारमा बाँकी रकम थप गरी संघले २५ सयका दरले राहत रकम वितरण गरेको छ । त्यस्तै संघले जिल्लाको फुटबल खेल क्षेत्रको विकासमा सञ्चार माध्यमबाट सहयोग पुर्‍याउने पत्रकारहरुलाई समेत सहयोग गरेको हो ।

राहत रकम वितरण गर्दै संघका अध्यक्ष मनोहर थापाले कोरोना महामारीका कारण प्रभावित बनेका खेलाडी र पत्रकारहरुको मनोवल उच्च बनाउनका लागि एन्फाबाट प्राप्त सहयोग रकम वितरण गरिएको बताए । उनले कोरोनाले धेरैलाई मनोवैज्ञानिक असर पारेको बताउँदै अहिलेको अवस्थामा भावनात्मक सम्बन्ध कायम गर्नका लागि पनि खेलाडीहरुको मनोवल उच्च बनाउनुपर्नेमा जोड दिए । निर्वतमान अध्यक्ष भिमसेन कार्कीले यसलाई राहत नभई सहयोगको रुपमा बुझ्नुपर्ने बताउँदै खेलाडीहरुलाई सहयोगको लागि संघ र आफु सधै तयार रहेको बताए । उनले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले खेलहरु सञ्चालन नभएको र आम्दानीका श्रोत समेत ठप्प भएको अवस्थामा खेल क्षेत्रमा लागेका खेलाडी र सञ्चार माध्यमबाट खेल क्षेत्रको विकासमा टेवा पुर्‍याउदै आएका पत्रकारहरुलाई राहत स्वरुप सानो सहयोग गरिएको बताए ।

संघका महासचिव भरत शर्माले राहत, राहत नभई खेलाडी र संघको भावनात्मक सम्बन्ध कायम राख्नको लागि प्रदान गरिएको सहयोगका रुपमा बुझ्न खेलाडीलाई आग्रह गरे । अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका जिल्ला संवाददाता कृष्ण पोखरेलले कोरोना महामारीबाट प्रभावित भएका खेलाडीहरुलाई राहतले खेल जीवन र संस्थाप्रति अपनत्व हुने बताए । संघका सदस्य तथा खेलाडी अञ्जु दर्लामीले सहयोगले खेलाडीहरुलाई थप उत्साह थपिएको बताईन ।

 

 

प्रकाशित मिति: आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update