रामचन्द्र रायमाझी
पाल्पा । कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् । बिहीबार पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका नागरिकले मानवियसँगै भौतिक क्षति बेहोर्नु परेको छ । तीन दिनदेखि निरन्तर परिरहेको वर्षात्का कारण बिहीबार फोक्सिङकोटमा गएको पहिरोमा परी बेपत्ता ६ जना मध्ये एक जनाको शव भेटिएको छ । यो समाचार तयार पार्दासम्म फोक्सिङ्गकोट सुरुमडाँडामा विरबहादुर गाहाको पहिरोले घर पुरिदा बेपत्ता २७ वर्षीया मोतिश्रा गाहाको शव भेटिएको हो । स्थानीय र प्रहरीको खोजीकार्यपछि उनको पहिरोले पुरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गर्भवती महिला रहेको बुिझएको छ । पहिरोमा परी १४ वर्षीया अञ्जु पुन सामान्य घाइते भएकी छन् । पहिरोले फोक्सिङकोट बेलौजाका दुई घर समेत पुरिएका छन् । स्थानीय हुमबहादुर गाहा र मन बहादुर गाहाको घर पुरिदा ५ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन गिरीले जानकारी दिए ।
बिहान ४ बजे तिर गएको पहिरोमा परी सुतिरहेका ६० वर्षीय हुमबहादुर गाहा, उनकी श्रीमती ५० वर्षीया धनिसरा गाहा, १७ वर्षकी छोरी कृष्णा गाहा, नातिनिहरू लक्ष्मि गाहा र खुमिसरा आले बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मनबहादुर गाहाको परिवारका तीन जना भने पहिरो खसेपछि पनि भागेर ज्यान जोगाउन सफल भएका थिए । अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले उनीहरू पुरिएका हुन् । बेपत्ता उनीहरुको खोजि कार्य भइरहेको डिएसपी गिरीले बताए । अविरल वर्षा भइरहेको र पहिरो खसिरहेकाले उद्दारमा निकै नै कठिनाई भएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । २०७२ सालको विनाशकारी भूकम्पको कम्पनका कारण उक्त क्षेत्रको जमिन कमजोर भएकाले पहिरो गएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । पहिरोका कारण बेलौजाको तल्लो टोलका १७ घर परिवार जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए । उनले भने ‘जोखिममा रहेका घर परिवारलाई नजिकै रहेको बस्तीका घर र स्वास्थ्यचौकीमा व्यवस्थापन गरिएको छ ।’