
पाल्पा । पाल्पामा कोरोना संक्रमणको दर बढ्दै गए पनि निको भएर घर फर्किनेको दर पनि उत्तिकै अनुपातमा वृद्धि भएको छ । विहिबार जिल्लाका विभिन्न स्थानीय तहका ६१ जना संक्रमितले कोरोना जितेर घर फर्किएका छन् । संक्रमण देखिएपछि विभिन्न आइसोलेशन र होमआइसोलेशनमा रहेका ६१ जनाले एकै दिन कोरोना जितेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार माथागढी गाउँपालिकाका ८ जना, रामपुर नगरपालिकाका १ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका ९ जना, बगनासकाली गाउँपालिकाका १० जना, तिनाउ गाउँपालिकाका ९ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, तानसेन नगरपालिकाका ११ जना र जिल्लाका अस्पतालहरुमा उपचारत ११ जना संक्रमितले कोरोना जितेका छन् । १४ दिन आइसोलेशन सेन्टरमा रहेर उनीहरु घरफिर्ता भएका हुन् । आइसोलेशन र होम आइसोलेशन सेन्टरहरुमा रहेका व्यक्तिहरु नेपाल सरकारको मापदण्ड अनुसार तोकिएको समयमा आइसोलेशनमा बसेर घर फिर्ता भएको स्वास्थ्य कार्यालयले जनाएको छ । पाल्पामा अहिलेसम्म संक्रमित मध्ये ६ सय ४९ जनाले कोरोना जितेका छन् ।
त्यस्तै विहिबार पाल्पामा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । पूर्वखोलाका १ जना, तानसेनका १ जना, रामपुरका ४ जना र जिल्लाका अस्पतालमा उपचाररत ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । उनीहरु सबै समुदाय स्तरका संक्रमितहरु रहेको छन् । यस संगै पाल्पामा कुल संक्रमितको संख्या ७ सय २७ पुगेको छ । जसमध्ये एक सय ३९ जना समुदायस्तरका व्यक्तिहरु रहेका छन् । कोरोना महामारीका बेला अग्रभागमा रहेर काम गर्दै आएका १६ जना स्वास्थ्यकर्मी समेत कोरोना संक्रमित भएका छन् । पाल्पामा अहिलेसम्म कोरोनाबाट चार जनाको मृत्यु भइसकेको छ ।