गौरी पब्लिक रिलेसन एन पब्लिकेशन काठमाण्डौँद्वारा प्रकाशित बाल साहित्यकार सीता बिष्ट कार्की (सीबिका) द्वारा लिखित बाल कथा संग्रह ‘सिकारी बा’ (२०७६) भित्र संग्रृहित कथाका सार सन्देशहरु यस प्रकार रहेका छन् ।
१. नक्कल : सुष्मालाई अस्मिताले लगाए जस्तै घडी लगाउने रहर हुन्छ । छोरीको जिद्धिले आमाले घडी किनिदिन्छिन् । फेरि सुष्मालाई पूजाको जस्तै कार्टून चित्र भएको झोला किन्ने रहर जाग्छ । छोरीको फर्माइस बढेको देखेर आमाले सम्झाउछिन् । सुष्माले मौन स्वीकृति दिदै सन्तोष मान्छिन् । अर्काको नक्कल गर्नु हुदैँन र आफूसँग जे छ त्यसैमा चित्त बुझाउनु पर्छ भन्ने कथ्य सन्देश रहेको छ ।
२. सिकारी बा : भालुवनमा बाघ, भालु, जरायो, हरिण, मृग लगायतका जनावरहरु बस्दथे । एक जना सिकारी जसलाई ‘सिकारी बा’ भन्दथे, उनी एकदिन मृग मार्न जंगलमा पसे । यही बेला कसैले बन्दुक पड्कायो । आवाज सुनेर मृग भाग्यो । आफ्नो सिकार उम्केकोमा ‘सिकारी बा’ रिसाए । त्यहाँ नयाँ मान्छे देखियो । तर ऊ वनपाले थियो । बनपालेले जनावरको संरक्षण गर्थे । स्कूलबाट फर्कदा नाति सुप्रिमले हजुरबुवाको हातमा बन्दुक देख्छ । बन्दुके हजुरबुवाको घरमा जान्न भनी सुप्रिमले भनेपछि हजुरबुवाको आँखा खुल्छ र अब कहिल्यै जनावर नमार्ने भनी बन्दुक बनपाले दाईलाई दिन्छन् । कर्तव्यबोध गर्नु र अधिकार संरक्षण गर्नुपर्छ भन्ने कथ्य सन्देश रहेको छ ।
३. गृहकार्य : एकादेशमा एउटा बूढीआमा थिइन् । उनको सहारा एउटा लौरो मात्र थियो भनी सरले कथा सुनाएपछि हजुरआमाको बारेमा छलफल गराउनु भयो । विद्यार्थीहरुले हजुरआमा सहित आमा बुवाले गर्ने व्यवहारहरु बताए । भोलि आउँदा सबैले हजुरआमाको बारेमा लेखेर ल्याउनु भन्दै सरले गृहकार्य दिनुभयो । बालकेन्द्रित शिक्षण विधि अनुसार पढाउँदा प्रभावकारी हुन्छ भन्ने सन्देश दिनुका साथै बुढाबुढीलाई हेला होइन माया गर्नुपर्दछ भन्ने सन्देश कथाले दिएको छ ।
४. नातिनीको भाँडाकुटी : आफूले जन्मदिनमा उपहार पाएको भाँडाकुटी खेल्ने समय नपाएपछि नातिनीले हजुरबुवाको शरण लिएर आमालाई ढाँटी स्कूल नगएर भाँडाकुटी खेल्छिन् । हजुरबुवाले आफ्नो मनको कुरा बुझेकाले भोलिदेखि नातिनी खुरुखुरु स्कूल गएर मन लगाएर पढ्छिन् । यस कथाको मुख्य सन्देश अभिभावकले बालबालिकाको मनोविज्ञान बुझेर व्यवहार गर्नु पर्ने रहेको छ ।
५. हजुरआमा : हजुरआमा आकाशमा जानु भयो भनेर कुशललाई ढाँटिएको छ । आमाको घरमै मर्ने इच्छा रहेको छ, लिन आउनुस् भन्दै वृद्धाश्रमबाट फोन आउँछ । कुशलका बाबु र आमा सोचमग्न हुँदै कथाको अन्त्य हुन्छ । वयस्क अवस्थाका छोरा बुहारीले वृद्ध अवस्थाका आमाबुवालाई गर्ने हेला र बालबालिकाहरुलाई सानैदेखि भ्रममा पारिने चारित्रीकरण गर्दै लेखिएको यस कथाको सन्देश सत्यलाई कदापि लुकाउन सकिँदैन भन्ने रहेको छ ।
६. इज्जत : शर्मिलाको बाबाले धेरै रक्सी खाएर हल्ला गर्छन् । बाबाको रक्सीको लत छुटाउन शर्मिलाको मामा माइजु आएको भन्ने झुठो नाटक गरी बाबालाई लुकाउँछिन् । भोलि घरमा साँच्चिकै मामा माइजु आउँदा बाबाले पछुतो मान्दै रक्सी खानेछैन भनी उद्घोष गर्छन् । चतुर छोरा छोरीहरुले वुद्धि विवेक प्रयोग गरेमा अभिभावकहरु समेत सुध्रिन सक्छन् भन्ने सन्देश इज्जत कथाको रहेको छ । बालबालिकाहरुले सजिलै बुझ्न सक्ने सरल भाषा शैलीमा बालमनोविज्ञानका आधारमा तयार पारिएका कथा, कविता, उपन्यास, गीत आदिनै बालोचित साहित्य हो । बालसाहित्यको एक प्रमुख विधाको रुपमा बालकथा रहेको छ । उमेर अनुसारको सिर्जना सरस र सरल बालभाषा, रोचक प्रस्तुती शैली, मनोरञ्जनात्मक, सिर्जनात्मक र ज्ञानविज्ञानद्वारा अभिप्रेरित लगायतका आवश्यक पक्षहरु बाल भाषा, रोचक प्रस्तुतीशैली, मनोरञ्जनात्मक, सिर्जनात्मक र ज्ञानविज्ञानद्वारा अभिप्रेरित लगायतका आवश्यक पक्षहरु बाल कथा भित्र हुनुपर्दछ । जुन कुरा सीबिकाका बाल कथाहरुमा पाइएका छन् । ‘सिकारी बा’ मनोरञ्जनात्मक, संवादात्मक शैलीको कथा रहेको छ । यो कथाको आधारमा बाल लघुनाटक पनि खेल्न सकिन्छ ।
‘गृहकार्य’ शीर्षकको कथा बालशिक्षण सिकाई क्रियाकलाप केन्द्रित छ । रुचि अनुसारको गृहकार्य दिदाँ सबै बालबालिकाले गर्न सक्छन् । घरायसी कुराहरुको उठान गरिदिदाँ सजिलै लेख्न र बोल्न सक्ने आदतहरुको विकास हुँदै जान्छ । ‘नातिनीको भाँडाकुटी’ बाल मनोविज्ञानमा आधारित कथा हो । आमा बावुहरुले आफ्ना छोराछोरीहरुलाई केवल पढ, असल र ठूलो मान्छे बन भनेर सिकाइरहन्छन् तर उनीहरुको इच्छा चाहना आवश्कता बुझ्दैनन् र त बालबालिकाहरुले अभिभावकलाई ढाट्नुपर्ने स्थिति सिर्जना हुन्छ । यस्तो अवस्थामा बालकको मनस्थिति बुझियो भने उसलाई भनेको मान्ने गराउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ । ‘हजुरआमा’ यस संग्रहभित्रको उत्कृष्ट बाल कथा हो । आमा बाबुहरुले वृद्ध भएका मातापितालाई कसरी हेला गर्छन र आफ्ना सन्तानलाई सानै उमेरदेखि कसरी भ्रममा बाँच्न सिकाइरहेको हुन्छन् भन्ने कुराको पर्दाफास गरेको छ । ‘नक्कल’ कथाले बालबालिकाहरुलाई सानैदेखि घाँटी हेरेर हाड निल्नु भन्ने उखानलाई चरितार्थ गराएको छ । छोराछोरीले केही प्रयास गर्ने हो भने पनि बिग्रेका अभिभावकहरुलाई सुधार्न सकिन्छ भनेर उपाय प्रस्तुत ‘इज्जत’ कथामा गरिएको छ । ‘इज्जत’ कथा बाल नाटकीय पारामा लेखिएको रमाइलो कथाको रुपमा रहेको छ ।
मनोरञ्जन, जिज्ञासाहरुको समाधान, ज्ञानको प्रवद्र्धन, विज्ञानको खोजी, चेतना, सोच र सिर्जनशिलताको विकास भाषिक क्षमताको विकास र बालबालिकाहरुको चारित्रिक सुधार गराउनुका साथै पढ्ने प्रवृत्तिको विकास एवं मानवीय मुल्य र मान्यताप्रति जागरुपता प्रदान गर्ने वैशिष्ट्य विशेषताहरु रहेका बाल कथाहरु ‘सिकारी बा’ भित्र संगृ्रहित रहेका छन् । सुधारात्मक पक्षको कुरा गर्दा शुद्धिकरणमा ध्यान दिनुका साथै कथा अझ छोटो–छोटो बनाउँदा प्रभावकारी हुन जान्छ । ‘सिकारी बा’ शीर्षकको कथामा रहेको धनुवाणले सिकार गरेको चित्रको स्थानमा बन्दुकले सिकार गरेको चित्र राखिएको भए अझ सुनमा सुगन्ध हुने थियो । हजुरआमा केन्द्रित दुईवटा कथा हुनुभन्दा एउटा कथा हजुरबाको पीडाको बारेमा पनि लेखिएको भए न्यायोचित हुने थियो ।
लुम्बिनी अञ्चल पाल्पा रिब्दीकोट–७ जन्म भई हाल टोखा नगरपालिका–९ गोगँबु, काठमाण्डौँ बसोबास गरी प्राध्यापन पेशामा संलग्न रहनुका साथै डा.के.एन. मोदी युनिभर्सिटी राजस्थान भारतबाटCorporate Social Responsibility from Employes' Perspective Reference to Nepal शीर्षकमा शोध विधावारिधि गरिरहेकी साहित्यकार सीता बिष्ट कार्की (सीबिका)का कविता, उपन्यास, बाल उपन्यास, मुक्तक, हाइकु, गजल, बालकथा र बालकविता गरी बाह्रवटा कृतिहरु प्रकाशित भईसकेका छन् । आधा दर्जन भन्दा बढी संयु्क्त संग्रह र विभिन्न पत्रपत्रिकाहरुमा कथा, कविताहरु प्रकाशित हुँदै आएका छन् । सामाजिक सञ्जाल मार्फत पनि उनका साहित्यिक सिर्जनाहरु नियमित संप्रेषित हुँदै आएका छन् । बाल साहित्यतर्फ सीबिकाका सन्देशमूलक मनोवैज्ञानिक बाल उपन्यास ‘मीना’ (२०७४), बालविज्ञानमा आधारित कथा संग्र्रह ‘शिलुको मनोविज्ञान’ (२०७५) र ‘सिकारी बा’ (२०७६) बाल कविता संग्रह ‘सपना’ (२०७६) प्रकाशित भएका छन् । अन्तर्राष्ट्रिय बालसाहित्यकार एन्ड्रियु क्राफ्टले भनेका छन्, ‘‘कुनै बालपुस्तक या बालचरित्र अत्यन्त असाधारण रुपमा सफल हुनु र कुनै नहुनुको कारण भन्न असम्भव नै छ । एक सफल बाल लेखक हुनका लागि भने बालबालिकालेझैँ सोच्न सक्ने क्षमता चाँहि हुनैपर्छ ।’’
आज भोलि उचित शिक्षा, पठनीय साहित्य र सिकाई वातावरणको कमी एवं गलत संगत र अनुशासनहिन स्वतन्त्रताको कारणले बालबालिकाहरु उद्देश्यमूलक सिकाई एवं चारित्रिक दृष्टिकोणले समेत कमजोर हुँदै गएको अवस्थामा बालबालिकाहरुलाई असल, सदचरित्रवान, इमान्दार र अनुशासित बनाउनका लागि बाल साहित्यको महत्वपूर्ण भूमिका रहेको छ । बाल साहित्यकार सीबिकाको बाल कथा संग्रह ‘सिकारी बा’ पनि उल्लेखित भूमिका निर्वाहका लागि सहयोगी र उपयोगी बाल साहित्यको रुपमा रहने छ भन्ने विश्वास लिन सकिन्छ ।
कुशल सफल गृहिणीसँगै प्राध्यापन पेशामा संलग्न रहँदा रहँदै पनि नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अहोरात्र विभिन्न विधाका साथै बाल साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएकी सीबिकाका कृतिहरु महनीय, पठनीय, मननीय, उदाहरणीय र संग्रहणीय रहेका छन् । नेपाली भाषा साहित्यको विद्यार्थी र शिक्षक नरहँदा नरहँदै पनि सीबिकाले आफूलाई अरुभन्दा एक कदम अघि बढाएर समकालीन नेपाली नारी साहित्यकारको हाराहारीमै उभ्याएकी छिन् । बाल साहित्यकारको रुपमा समेत प्रतिस्थापित सीबिकाको आगामी दिन अझ बालसाहित्य बनिरहोस् । शुभकामना !