
पाल्पा । नेपालमा कोरोना संक्रमितको दरमा वृद्धि भए पनि निको भएर घर फर्कर्नेको संख्या पनि उत्तिकै दरमा वृद्धि भएको छ । बुधबार एकै दिन १८ सय ९३ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा पछिल्लो २४ घण्टामा १८ सय ९३ जना डिस्चार्ज भएको बताएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ४९ हजार ९ सय ५४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालको पछिल्लो संक्रमण मुक्त दर ७३.७ प्रतिशत रहेको छ ।
त्यस्तै नेपालमा थप ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको प्रवक्ता गौतमले बताए । २४ घण्टामा जम्मा ९ हजार ४ सय ९७ पीसीआर परीक्षण भएका छन् । हालसम्म ९ लाख ४४ हजार ४ सय ७४ पीसीआर परीक्षण भएका छन् । बुधबार सात जनाको कोरोनाले मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४ सय ३६ पुगेको छ ।