रमेश विश्वकर्मा
गुल्मी । जिल्लाको एक स्थानीय तहले किसानहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको छ । धुर्कोट गाउँपालिकाले कृषि उत्पादनलाई वृद्धि गरी गाउँपालिकालाई आर्थिक समृद्धि गर्ने गरी कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुको खरिद गर्ने भएको हो । कृषकलाई खेतबारी बाँझो नराखी उत्पादनमा जोड्ने उद्देश्यले उत्पादित वस्तुको मुल्य तोकेर पालिकाले कृषि उपज खरिद गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत काशिराम पन्थीले जानकारी दिए । उनका अनुसार मुलाको सिन्की प्रतिकिलो ४ सय रुपैयाँ, मुला सुकाएको चाना प्रतिकिलो ६० रुपैयाँ मूल्य तोकिएको छ । त्यस्तै तितौराको प्रति किलोको ३ सय ८०, बेसार सुकाएको चाना किलोको २ सय ८५, ग्रेडिङ गरेको मकै किलोको ४०, खैरो भट्ट किलोको ७०, खेतो भट्ट ७० र खैरे गहत किलोको ९० रुपैयाँ मूल्य तोकिएको छ ।
कृषकसँग खरिद गरेको वस्तु आर्थिक समृद्विका लागि ग्रामीण कृषि उद्यमशीलता बुटवललाई विक्री गरिने बताइएको छ । धुर्कोटमा उत्पादन भएको कृषि उपजलाई खरिद गरिदिने र गाउँपालिकाले विक्री गर्ने गरी गाउँपालिका र उद्यमशिलता बीच सम्झौता भएको हो । गाउँपालिकाले किसानहरुको लागि यस्तै महत्वपूर्ण कार्यहरु गर्दै आएको छ ।