रमेश विश्वकर्मा
गुल्मी । जिल्लामा ४५ करोड लागतमा विद्युतको सव स्टेशन बन्न लागेको छ । नेपाल विद्युत प्राधिकरणको ४५ करोड लागतमा रेसुुङ्गा नगरपालिकाको वडा नं.५, ६ र ७ मा पर्ने उनायचौरमा १३२ केभीए विद्युत लाइनको सव–स्टेशन निर्माण हुन थालेको हो । सव स्टेशनको केही दिन अघि शिलान्यास गरिएको छ । केन्द्रीय विद्युत प्रसारण लाइन विस्तार गर्न सव–स्टेशन निर्माण कार्यको लागि रेसुुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले शिलान्यास गरेका थिए । विद्युतीय सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले जिल्लामा १३२ केभीए विद्युत लाइनको सव–स्टेशन निर्माण गर्न लागिएको हो । सव–स्टेशनको शिलान्यास गर्दै नगरपालिकाका मेयर भुसालले निर्माण व्यवसायीलाई समयमै काम सम्पन्न गर्न आग्रह गरेका छन् । उनले निर्माण व्यवसायी काम जिम्मा लिने तर समयमै सम्पन्न नगर्ने प्रवृत्तिका कारणले धैरै विकास निर्माणका कामहरु अलपत्र पर्ने गरेको बताए । केन्द्रीय प्रसारण लाइनको विद्युत गुल्मीमा जोडिएपनि बुटवलमा रहेको सव–स्टेशनको क्षमताले काम नगरेपछि छुट्टै सव–स्टेशन निर्माण गर्न थालिएको बताईएको छ ।
सव स्टेशनको डेढवर्ष भित्र काम सम्पन्न गर्ने गरी सिग्मा कन–नरेन्द्र निर्माण जेभी बानेश्वर काठमाडौंले निर्माणको जिम्मा लिएको छ । कपिलवस्तुको मोतिपुरमा रहेको सव स्टेशनबाट अर्घाखाँची हुँदै गुल्मीको रेसुङ्गा नगरपालिकाको उनायचौर र मुसिकोट नगरपालिकाको पौँदीअमराई भएर बाग्लुङको बुर्तिबाङसम्म विद्युत बितरण हुनेछ । सव स्टेशनले बिद्युतिय ओभर लोडलाई कम गर्न मद्दत गर्ने काम गर्ने छ । सव स्टेशनको काम अबको एक डेढ बर्ष भित्र सम्पन्न हुने नेपाल विद्युत प्रधिकरणका इन्जीनियर सूर्य पाण्डेले बताए ।