Shittalpati
कोरोना अपडेट : पाल्पाका स्थानीय तहमा यस्तो छ अवस्था

रामचन्द्र रायमाझी
पाल्पा । अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ । यसको कारण विश्वभर सन्त्रास बढ्दो छ । संक्रमणबाट विकसित मुलुकलाई नागरिक बचाउन हम्मेहम्मे परिरहेका बेला संक्रमित नेपाली भने तग्रिँदै गएका छन् । नेपालमा संक्रमति दर वृद्धि भए पनि निको हुनेको दर पनि उत्तिकै संख्यामा रहेको छ । बुधबार पछिल्लो २४ घण्टामा एक हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भए पनि ९ सय १८ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुग्दा डिस्चार्ज हुनेको संख्या ३३ हजार ८ सय ८२ पुगेको छ । सूरुवातका दिनमा पाल्पामा कोरोना संक्रमितको संख्यामा अत्याधिक रुपमा वृद्धि भए पनि पछिल्लो समयमा संक्रमितको संख्या न्यून देखिन थालेको छ । पछिल्ला केही दिन यता समुदायस्तरमै संक्रमण देखिए पनि पहिलेको तुलनामा संक्रतिमको संख्या भने न्यून हो । आठ गाउँपालिका र दुई नगरपालिका रहेको पाल्पामा बुधबारसम्ममा ६ सय १२ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ५६ जना महिला र ५ सय ५६ जना पुरुष रहेका छन् । संक्रमित मध्ये ५ सय ७० जना निको भएर घर फर्किए सकेका छन् । जिल्लामा अहिलेसम्म ३१ जना समुदायस्तरका संक्रमित भेटिएका छन् भने, तानसेन नगरपालिकाका एक जना महिला र पूर्वखोला गाउँपालिकाका एक जना पुरुषको मृत्यु भएको छ । अहिलेसम्म तानसेन नगरपालिकामा ९, माथागढी गाउँपालिकामा ५, रामपुर नगरपालिकामा २, रम्भा गाउँपालिकामा ३, रैनादेवी छहरा गाउँपालिकामा ३ र तिनाउ गाउँपालिकामा ९ जना गरी ३१ जना समुदायस्तरका व्यक्तिहरुमा संक्रमण देखिएको हो ।

जिल्लामा अहिलेसम्म सबै भन्दा बढी पूर्वखोला गाउँपालिकामा संक्रमण देखिएको छ । ४ सय ७१ जनाको पिसिआर परीक्षण गरिएकोमा एक सय ६३ जनामा कोरोना संक्रमण देखिएको हो । जस मध्ये एक जना पुरुषको मृत्यु भएको छ । संक्रमित देखिएकाहरु मध्ये एक सय ६० जना निको भएर घर फर्किका छन् । त्यस्तै रामपुर नगरपालिकामा ९ सय ४३ जनाको पिसिआर परीक्षण गरिएकोमा एक सय १९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अहिले उनीहरु सबै डिस्चार्ज भएर घर गएका छन् । निस्दी गाउँपालिकामा ४ सय ४५ जनाको पिसिआर परीक्षण गरिएको थियो । जसमध्ये ९९ जनामा संक्रमण देखिएको छ । उनीहरु अहिले सबै डिस्चार्ज भएका छन् । त्यस्तै माथागढी गाउँपालिकामा ६ सय ६६ जनामा परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये ३० जना निको भएका छन् भने ८ जना होम आइशोलशनमा रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताए । रैनादेवी छहरा गाउँपालिकामा ८ सय ६ जनाको पिसिआर परीक्षण गरिएको थियो । जहाँ ४२ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये ३९ जना निको भएका छन् । रम्भा गाउँपालिकामा पनि ३ सय ४९ जनामा परीक्षण गरिएकोमा ४८ जनामा संक्रमण देखिएको थियो । जसमा ४५ जना निको भएर घरमा फर्किएका छन् । बगनासकाली गाउँपालिकामा ४ सय ३ जनाको पिसिआर परीक्षण गरिएको थियो । जसमध्ये ४३ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये अहिले ४२ जना निको भएका छन् । त्यस्तै तिनाउ गाउँपालिकामा ४ सय ३ जनामा परीक्षण गरिएकोमा २४ जनामा संक्रमण पुष्टि भएको थियो । जहाँ ९ जना निको भएका छन् । रिब्दीकोट गाउँपालिकामा ३ सय जनाको परीक्षण गरिएको थियो । जसमा १० जनामा संक्रमण देखिएको छ । संक्रमित मध्ये अहिले ८ जना निको भइसकेका छन् । तानसेन नगरपालिकामा ११ सय ८१ जनाको पिसिआर परीक्षण गरिएको थियो । जहाँ २० जनामा संक्रमण देखिएको थियो । संक्रमण देखिएका मध्ये १६ जना अहिले निको भएर घर फर्किएका छन् । जिल्लाका विभिन्न अस्पतालमा बाहिरबाट आई उपचार क्रममा कोरोना लक्षण देखिएपछि परीक्षण गरिएका ११ जना मध्ये ६ जनामा संक्रmमण देखिएको थियो । जसमध्ये ३ जना निको भएका छन् । बुधबार मात्र २ जना संक्रमित थपिएका छन् । तानसेन नगरपालिका ८, का एक जना र पूर्वखोला गाउँपालिकाका एक जना व्यक्ति रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । तानसेनका ३८ वर्षका व्यक्ति क्वारेन्टाइनबाट भागेर घरमा आएर बसेका व्यक्ति रहेको बताइएको छ । उनी भारतबाट आएका व्यक्ति हुन् । पूर्वखोला गाउँपालिकाका संक्रमितको भने बुटवलमा स्वाव संकलन गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update