पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले शिक्षकहरुको कोरोना बिमा गरिदिने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीका बेलामा पनि सेवाप्रवाह गरिरहेका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा शिक्षिकाहरुको कोरोना बिमा गरिदिने भएको हो । गत विहिबार बसेको कार्यपालिकाको बैंठकले निजी स्रोतका शिक्षकहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताए । उनले भने ‘स्थायी शिक्षक कर्मचारीहरुको बिमा भए पनि निजी स्रोतका शिक्षकहरुको नभएकाले उनीहरुको जोखिम बहनका लागि बिमा गरिदिने निर्णय भएको हो ।’ माहामारीका कारण सम्पूर्ण शैक्षिक संघसंस्था बन्द भएको अवस्थामा पनि निजी स्रोतका शिक्षकहले जोखिम मोलेरै भए पनि विभिन्न वैकिल्पक माध्यमबाट विद्यार्थीहरुलाई शिक्षण गराई रहेका शिक्षकहरुको मनोवल उच्च राख्न बिमाले महत्वपूर्ण टेवा पुग्ने गाउँपालिकाका शिक्षा अधिकृत निशा पाण्डेले बताईन् । गाउँपालिकाले सम्बन्धित विद्यालयका शिक्षकहरुलाई सूचना नै जारी गरी विवरण पेश गर्न आह्वान गरेको छ । विवरण पेश गर्दा विद्यालयको सिफारिस, विमितको नाम लिष्ट, नागरिकताको प्रतिलिप अनिवार्य उपलब्ध गराउन गाउँपालिकाले आग्रह गरेको छ ।
गाउँपालिकाले यस अघि माहामारीका बेलामा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको समेत कोरोना बीमा गरिदिएको थियो । महामारीको समयमा आम नागरिकको स्वास्थ्य उपचारमा खटिने वडाका सबै स्वास्थ्यकर्मी, कोरोना रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालकको गाउँपालिकाले कोरोना बीमा गरिदिएको हो । कोरोना महामारीको बेला जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालक गरी ६१ जनाको प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गरिएको थियो ।