पाल्पा । जिल्लामा क्रियाशिल साहित्यिक संस्था पाल्पा साहित्य समाजले साहित्यकार शुभ श्रेष्ठलाई भर्चुअलमार्फत सम्झिएको छ । श्रेष्ठको १३ औं दिनको पुण्य तिथीको अवसरमा समाजले भर्चुअल मार्फत श्रद्धाञ्जली सभाको आयोजना गरी सम्झिएको हो ।
सभामा साहित्यकारहरुले नेपाली साहित्यको श्रीवृद्धिमा शुभ श्रेष्ठले पुर्याएको योगदानको चर्चा गर्दै उनको कार्यको सबैले प्रशंसा गर्नुपर्ने बताएका थिए । कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठले शुभ सशक्त नारी हस्ताक्षर भएको बताए । साहित्यकार विजय सागरले शुभ श्रेष्ठ सशक्त नारीवादी साहित्यकार रहेको र उनको ‘राजराजेश्वरी’ उपन्यास अझै अप्रकाशित रहेको बताए । शान्त शाक्यले साहित्यकार श्रेष्ठको परिचय दिनुको साथै नैना नेपाल र सावित्री मल्ल कक्षपतिले शुभ श्रेष्ठसँगको बाल्यकालको स्मरण गरेका थिए । उषा शेरचनले श्रेष्ठ अन्र्तमुखी प्रतिभाशाली नारी भएको बताइन् । तानसेन गुठीका अध्यक्ष सर्जुमान लिगलले श्रेष्ठ साहित्यिक व्यक्तित्व हुनुका साथै सामाजिक व्यक्तित्व समेत रहेको बताए । शुभ श्रेष्ठका भाई भरत देउरालीले दिदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पाल्पा साहित्य समाजप्रति आभार प्रकट गरे । समाजका संरक्षक राजेन्द्रगोपाल सिंहले शुभ श्रेष्ठ पाल्पाली चेली हुनुको साथै राष्ट्रियस्तरमै चर्चित साहित्यकार रहेको बताए । उनले समाजका संस्थापक सदस्य समेत रहेकी श्रेष्ठको योगदान नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा साहित्यकारहरु हिमाल कसजु, गंगाल लिगल, सीता विष्ट कार्की, बिजु पछाई, गंगा अभिलाषी, सुरज घिमिरे, दिव्यश्वरी शर्मा, हरि भट्टराई, गोविन्द खनाल, भोजराज भट्टराई, महेन्द्र पन्थी, मिनु श्रेष्ठ लगायतका साहित्यकारहरुले शुभ श्रेष्ठको योगदानका विषयमा चर्चा गरेका थिए । समाजका अध्यक्ष पुष्करराज रेग्मीको संयोजनमा भर्चुअल सभा भएको थियो । उनले स्व.साहित्यकार श्रेष्ठको संक्षिप्त परिचयात्मक डकुमेन्ट्री प्रर्दशन गरेका थिए । समाजकी सदस्य समेत रहेकी श्रेष्ठको कविता संग्रहहरु मेरो छाना माथिको निलो आकाश र बन्द मनको पिंजडाभित्र, उपन्यास अस्मिताको खोजी, समीक्षा सुमती उपन्यास एक चर्चा परिचर्चा, नियात्रा संग्रहहरु शिवशक्ति बाबा कालीबारा धाम र मधुवन गरी ६ वटा कतिहरु प्रकाशित भएका छन् । उनको मधुमेह, उच्च रक्तचाप र मृगौलाको उपचार गर्दागर्दै यहि भदौ ८ गते काठमाडौंमा निधन भएको थियो ।