पाल्पा, नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज घर–घर तथा शक्तिपीठहरूमा विधिपूर्वक फूलपाती भित्र्याइँदै छ । दसैँको सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार दुर्गा भवानीको पूजा–आराधना गर्दै शुभ साइतमा फूलपाती भित्र्याउने गरिन्छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको फूलपातीमा बेलपत्र, केरा, दारिम, धान, उखु, अदुवालगायतका वनस्पति र पवित्र सामग्री भित्र्याउने चलन छ । फूलपाती भित्र्याएसँगै दसैँको उत्साह र उमङ्ग थप बढ्ने गर्दछ ।
यस दिन विभिन्न शक्तिपीठ तथा मन्दिरहरूमा भक्तजनको चहलपहल बढ्ने गर्दछ । फूलपातीलाई दसैँको महत्वपूर्ण दिनका रूपमा लिइन्छ । यससँगै दसैँको मुख्य उत्सव नजिकिँदै जाँदा बजार, गाउँघर तथा सहरमा चाडपर्वको रौनक थप बढ्दै गएको छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतिकका रुपमा भित्र्याइ शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्षको फूलपातीको दिन तुलजा भवानी यात्राको साइत बिहान ७ः ३७ बजे रहेको छ । तुलजा भवानीलाई बिहान १०ः३९ बजे स्थिरासन गराइन्छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दसैैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । घटस्थापनाका दिन जमरा राखिएको पूजाकोठामा आज कालरात्रिको विशेष पूजा गरिन्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि विदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा संलग्न मानिस स–परिवार बसेर दुर्गा भवानीको प्रसादका रुपमा टिका थाप्न आफ्नो पुख्र्यौली थलो फर्कने क्रम अझ तीव्र हुनेगर्छ । नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गे पिङ र रोटे पिङले दसैँको रौनकतालाई अझ बढाउने गर्छ ।
बडादसैँको साइत विहान १०ः२६ बजे
विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०ः२६ बजेको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउने मानिस पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।


