पाल्पा, विभिन्न कार्यक्रम गरी आज ४६ औँ विश्व खाद्य दिवस मनाइँदै छ । हरेक वर्षको १६ अक्टोबरमा यो मनाइने गरिन्छ । खाद्य सुरक्षा, पोषणयुक्त खानाको महत्व तथा भोकमरी अन्त्य गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि स·ठन (एफएओ) को स्थापना दिवसको अवसरमा सन् १९८१ देखि अक्टोबर १६ लाई विश्व खाद्य दिवसका रूपमा मनाउन थालिएको हो । यस दिवसले सबै मानिसका लागि पर्याप्त, सुरक्षित र पोषणयुक्त खाद्य उपलब्ध गराउनुपर्ने आवश्यकताबारे जनचेतना फैलाउने काम गर्दै आएको छ । विश्वका विभिन्न मुलुकमा अझै पनि लाखौँ मानिस भोकमरी, कुपोषण र खाद्य असुरक्षाको समस्याबाट प्रभावित छन् । खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो । सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो । नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बौँ रुपैयाँ बराबरको धान, चामल, गहुँ, जौँ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ ।
अझ पनि ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ । सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो । तर, अहिले नेपालले अर्बौ रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ । जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औँ शताब्दीको मुख्य चुनौतीको रुपमा हेरिएको छ । जलवायु परिवर्तनकै काराण संसारका धेरै जसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ । नेपालीहरू वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेपछि हाम्रा हलो र जूवाहरूमा खिया लाग्न थालेका छन् । गोरु र गोठ सुनसान भएको छ । भकारीबाट झिकेर खाइने धान चामलको साटो बोरामा पसलबाट अन्न आउन थालेको छ तर हाम्रो उब्जाशील खेत र माटोहरू बाँझै छन् ।
ती खेतहरूको अनि माटोको उचित प्रयोग गर्न सक्ने प्रविधि, पुँजी र सीप भएमा नेपालीहरू बिदेसिन पर्दैन थियो । तर यसतर्फ सरकारले कुनै ठोस योजना बनाउन सकिरहेको छैन् । संसारमा कूल प्रयोग हुने अन्नमा एक तिहाई खेर जाने अनि फालिने तथ्याड्ढ छ, यो दुर्भाग्य हो । भोकमरीग्रस्त क्षेत्रमा खान नपाएर मान्छेहरू भोक भोकै छाला र हड्डी मात्र भएर बाँचिरहेका छन् । दिवसले यता तर्फ सोच्नुुपर्ने अधिकारकर्मीहरु बताउँछन् । सबैका लागि पर्याप्त र पोषणयुक्त खाद्य सुनिश्चित गर्दै दिगो खाद्य प्रणालीको विकास गर्नु आजको प्रमुख आवश्यकता बनेको छ ।


