पाल्पा । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै पाल्पाको लक्ष्मी माविसँगै प्रदेश पाँचका १९ सामुदायिक विद्यालयहरुलाई सफ्टवेयर सहयोग गरेको छ । बैंकले रिब्दीकोट गाउँपालिका ३ माल्मुलमा रहेको लक्ष्मी मावि सहित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका १ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त ‘ब्राइट स्कूल सिस्टम’ नामक सफ्टवेयर सहयोग गरेको हो ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउने उद्देश्यले सामुदायिक विद्यालयहरूलाई सफ्टवेयर सहयोग गरिएको बैंकले जनाएको छ । विद्यालयको शिक्षा सुधारको लागि बैंकले देखाएको सहयोग र सद्भाव प्रंशसनिय रहेको लक्ष्मी माविका प्रधानध्यापक दीपक कुंवरले बताए । उनले विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फारम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक विदाहरू, विद्यार्थीहरूको गृहकार्य,परीक्षा तालिका, खेलकुद कक्षा,सूचनाहरू लगायतका सुविधाहरू रहेको सफ्टवेयरको प्रयोगले विद्यालयको शिक्षा प्राणलीमा सुरधार हुनेमा विश्वास व्यक्त गरेका छन् । बैंकको मुलुकभर ३ सय २६ शाखा कार्यालय, ४ सय ६६ एटिएम, १ सय २ वटा एक्स्टेन्सन काउन्टर एवं ६४ वटा शाखारहित बैंकिङ इकाइ रहेका छन् । बैंकका देशभर २२ लाखभन्दा बढी ग्राहक रहेको जनाइएको छ ।