जीवन कार्की
बसन्तपुर, तानसेन, पाल्पा
डार्विनले उहिले भनेर गएथे
उपयोगिता नहुँने अङ्गको
लोप हुँदै जान्छ बिस्तारै
थाहा छैन कानको बाहिरी आवरणको आवश्यकता
के कति थियो वा छ
हुन त यो कुरुप कानको बाहिरी आवरणलाई
श्रृङ्गार्न अनेक–अनेक
गहनाले नसजाइएको पनि होइन ।
तर यतिबेला यो जगतमा
सबैभन्दा उपयोगी छ – कान
जसमा झुण्डाइएको छ – मुखौटो
मानिसले प्रकृति विरुद्ध गरेको बलात्कारको आरोप लागि सकेपछि
नाक र मुख देखाउन लायक छैन
त्यसैले नाक र मुख छोपेर हिँड्न
यतिबेला कान सहयोगी सिद्ध भएको छ
उहिले केटाकेटीमा चकचक गर्दा
कान काटेर खाइदिन्छु भन्नेहरूलाई सम्झिएँ
ओहो ! कान काटिदिएको भए
म अहिले नासिकेको हुने थिएँ
हुन त कान समातेर माफी पनि माग्न सकिन्थ्यो
तर असल संस्कारलाई भुटेर खाइसक्यौँ
अब फेरि आवश्यक छ मानिसलाई
जनावरको झै दारा
धारिलो नंग्रा
र पुच्छरको ।
किनभने
जुन अंग जनावरबाट मानिस बन्दै गर्दा हराएको थियो
अब मानिसबाट जनावर बन्दै गइरहेका हामीलाई
नितान्त आवाश्यक छ –लोप भइसकेका अंगको अंगको