Shittalpati
कवयित्री गंगा लिगलको संगीतको आभाष

पुष्कर अथक रेग्मी

विशेषत: लय, ताल र वाधवादनका साथ गाइने गीत, स्वर तालयुक्त मधुर गायनलाई संगीत भनिन्छ । आभाषको अर्थ नहुने कुरा पनि भर जस्तो हुने भान, झझल्को भन्ने हुन्छ । स्वच्छन्दतावादी काव्यशिल्पको प्रयोग गरी आप्रवासी स्वरुप चारित्रीकरण गरिएको कविता संग्रह संगीतको आभाष हो ।

पाल्पा तानसेन जन्म भई रुपन्देही भैरहवालाई कर्मभूमि बनाई संस्कृतिमा कलाचार्य र प्राध्यापनको दीर्घ अनुभव लिएर अमेरिका पुगेपछि नेपाली कविताको व्यापार किरण्म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङटन डि.सी. अमेरिकाद्वारा प्रकाशित कविता संग्रह संगीतको आभाष (२००७) हो । संग्रह भित्र रहेका ८७ वटा कविता हरुमध्ये छैठौँ कविता संगीतको आभाष बाट कविता संग्रहको शीर्षक राखिएको छ । यो कविता सांगीतिक रहेको छ र अन्य कविताहरुमा समेत सांगीतिक झिल्को पाइने भएकोले शीर्षकको सार्थकता रहन गएको छ । संग्रह भित्र रहेका कविताहरुको मूल मर्म, सन्दर्भ र प्रसंगहरुको निष्कर्षको सार यस प्रकार रहेका छन् ।

संगीतको आभाष भित्रका कविताहरु स्वच्छन्दवादी धारामा प्रवाह भएका छन् । सम्झना, बिर्सना, तिर्सना, प्रकृति प्रेम, विकृति, विसंगती, कल्पना, सपना, श्रद्धा, राष्ट्रियता, डायास्पोरिक भावना, मानवीय संवेदना, साँस्कृतिक सुस्वागतम आदिद्वारा प्रवाहित कविताहरु रहेका छन् । गंगा लिगलका संगीतको आवाज कविता संग्रहले प्रवाह गरेका चेतनाहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ । डायास्योरिक चेतना÷ भावनाले ओतप्रोत भएको कविता ‘विरानो छ’ हो । प्रस्तुत कवितामा अमेरिका भित्र नेपाल खोजिएको छ । ‘यहाँको परदेश’, ‘छाया परे छ’, ‘सारथी’, ‘जन्मदिन’, ‘प्रकाशमय समय’, ‘वाह वाह आज यस्तो’ कवितामा डायस्पोरिक स्वभाव देखिएको छ । आप्रवासी पिडा प्रकट गरिएको छ । जन्मभूमि, मातृभूमि, पितृभूमिको याद गरिएको छ । मानिस जो जहाँ पुगेपनि जेजे भएपनि अन्ततः मातृभूमिमै फर्कन, बस्न र मर्न चाहान्छ ।
राष्ट्रिय चेतनाले ओतप्रोत भएका कविताहरु ‘आमाको माया’, ‘देशको माटो’, ‘राष्ट्रिय ध्वजा’, ‘नयाँ आयाम’, ‘दियो बाल’, ‘सगरमाथाको गौरव’ ‘जन्मभूमिको माटो’ शीर्षक लगायतका कविताहरु हुन् । राष्ट्रिय झण्डा, सगरमाथा, माटो, देश यी सब राष्ट्रिय स्वाभिमानहरु हुन् । राष्ट्रिय स्वाभिमानको महत्वबोध त्यतिबेला हुन्छ, जतिबेला हामी आप्रवासी मुलुकमा रहन्छौ । आध्यात्मिक चेतना जागृत गराउने केही कविताहरु पनि संगीतको आभाषभित्र रहेका छन् । ‘मनको आँगन’, ‘विद्या दताति विनयम सेवा’, ‘प्रगति’, ‘धर्म’, ‘सत्य’, ‘अहिंसा’, ‘दिव्यता’ लगायतका केही कविताहरुले मानिसलाई भौतिकवादी हुन छाडेर जीवनदर्शन बुझ्दै आध्यात्मिक चिन्तनमा लाग्न उत्प्रेरित गराएको छ । ज्ञान मार्ग नै जीवन सत्यको मार्ग हो ।

साँस्कृतिक चेतनाले छताछुल्ल भएका गंगाका कविताहरु समेत कृतिभित्र संग्रहित रहेको छन् । ‘अतीत’, ‘स्वर्ग कहाँ छ’, ‘सन्ध्या’, ‘तिम्रो खाँचो छ’, ‘रमणीय धरती’, ‘हिमाली गौरव’ लगायतका कविताहरुले संस्कृतिको संरक्षणमा जोड दिएका छन् । नेपाली हामी संस्कृतिका धनी छौ । हाम्रो परम्परा संस्कृति र सम्पदाको संरक्षण हामीले आफैँ गर्नुपर्दछ । संस्कृति तोड्ने होइन, समय सापेक्ष अलिकति मोड्ने मात्र हो । सामा–साँस्कृतिक चेतनाले विश्वमा भातृत्व र भागीनीत्वको सम्बन्धमा विस्तार आउँछ । शान्ति र समृद्धिको चेतनाहरु समेत गंगाका कविताहरु जागृत भएका छन् । ‘प्रेम’, ‘अहिंसा’, ‘विश्वास’, ‘संगीत’, ‘धर्म’ लगायतका कविताहरुमा सुख शान्ति र समृद्धिको खोजी गरिएको छ । आखिर मान्छेले खोजेको शान्ति नै हो । वर्तमान त्रासदी पूर्ण विश्वमा ब्रÞमाण्डवासीहरुले जानेर होस् वा नजानेर होस् शान्ति नै खोजेका छन् । भौतिक शान्ति र आध्यात्मिक शान्ति दुवैको चाहाना मानिसमा छ तर मनको शान्ति नै सत्य शान्ति हो । संगीतात्मक चेतना अर्थात गद्य कविता पनि गेयात्मक भावका हुन्छन् भन्ने प्रस्तुती र सन्देश संग्रहभित्रका केही कविताहरुले दिएका छन् । ‘सुन्दर शान्त विशाल’, ‘सत्यको आभाष’, ‘प्रगति’, ‘शुभकामना नव वर्षको’, ‘संगीतको आभाष’ शीर्षकका कविताहरुमा गेयगुण व्याप्त पाइन्छन् । शब्द चयन र वाक्य मिलान गरी लेखिएका गद्य कविताहरु पनि गेयात्मक हुन्छन् भन्ने यथार्थता प्रस्तुत गरिएको छ ।

सम्भावनामुखी चेतनाले जागृत भएका कविताहरु पनि संग्रहभित्र रहेका छन् । सुन्दर सपना विपना बनाउन ‘प्रतिक्षा’, नवयुगको आगमन हुन्छ । ‘नवप्रभात’, उज्यालो अवश्य आउँछ आउँछ ‘दियो’ जीवन सदा रमाइलो, घमाइलो र संगीतमय बन्दछ ‘विश्वास’ सफलताको मार्ग खोजी गर्दै प्रतिक्षा ‘आकांक्षा’ देशको विकास हुनेछ भन्ने आशामा ‘नयाँ आयाम’ शीर्षकका कविताहरु रहेका छन् । यी कविताहरुले सम्भावनाको खोजी गर्दै आशावादी हुन सिकाएको छ । कला साहित्य प्रतिको चेतनाहरु छताछुल्ल भएका केही कविताहरु समेत संगीतको आभाषभित्र पाइन्छ । ‘नटिप है’, ‘मनको आँगन’, ‘सम्झनाका थुंगाहरु’, ‘चोखो अनुभूति’, ‘साहित्य जगत’, ‘बालक्रीडा’, ‘दिवा स्वप्न’ लगायतका कविताहरुमा कवयित्रीको कला साहित्य प्रतिको लगावको सुन्दर समिश्रण पाइन्छ ।

संगीतको आभाष कविता संग्रहभित्रका कविताहरुका भाषाशैली सरल, सहज, भावपूर्ण र वर्णनात्मक शैलीका रहेका छन् । कवितामा विम्ब र प्रतीकको पनि यथोचित प्रयोग भएको पाइन्छ । शब्दालंकार र अर्थालंकार दुवैको प्रस्तुती सान्दर्भिक छ । कवयित्रीको अभिव्यक्तिमा आत्म स्वीकृति, आत्मसम्मान, आत्मसन्तृष्टि र आत्मचाहनाका आभाषहरु प्रभावशाली रहेका छन् । ‘जीवन रंगीन्छ केवल साहित्यले राम्रा कपडाले होइन’ ‘साहित्य मेरो मुटु हो । मुटुका प्रत्येक स्पन्दन मेरा कविता हुन् ।’ ‘कविता मेरी संगीनी हुन् ।’ जस्ता महनीय उद्गार व्यक्त गर्ने कवयित्री गंगा लिगलका कविताहरु ‘आकाश गंंगा’ जस्तै संगीतको ‘आभाष भित्र’ बहेका छन् । कृति महनीय, पठनीय, मननीय, संग्रहणीय, अवलोकनीय रहेको छ । विशेषतः डायास्योरिक मनहरुले संगीतको आभाष स्वाध्ययन गरी राष्ट्रिय स्वाभिमानका साथ कर्म गर्दै जीवन मार्गमा लम्कनु नै अनिवार्य आवश्यकता रहेको छ ।

पाल्पामा जन्मिई लुम्बिनी क्षेत्र भूमि भैरहवालाई कर्मभूमि बनाई अमेरिका पुग्दा समेत साहित्य साधनालाई निरन्तरता दिइ पुन: ज्येष्ठ जीवनमा नेपालमै फर्कि साहित्यलाई आफ्नो प्राण भन्दा प्यारो मानी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि अहोरात्र समर्पित बहुआयामिक साहित्यकारको रुपमा स्थापित कवयित्री गंगा लिगलका कविता, कथा, गजल, हाइकु, धार्मिक लेख, खण्डकाव्य, पत्र संचयन आदि
गरी बाइस वटा पुस्ताकाकार कृतिहरु प्रकाशित भइसकेका छन् । दर्जनौ साहित्यिक पुरस्कारद्वारा सम्मानित एवं विभिन्न साहित्यिक संस्थाहरुमा आबद्व आदरणीय दिदी, नारी श्रष्टा, अग्रज नारी हस्ताक्षर साहित्यकार गंगा लिगलको आगामी दिन अझ साहित्यमय बनिरहोस् । सुदीर्घजीवनको शुभकामना !

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update