रामप्रसाद पन्थी
रेसुङ्गा नगरपालिका–२, तम्घास, गुल्मी
चपाएर काँचै कर्यामकुरुम खाए पनि हुने
पकाएर जिब्रो पड्काई–पड्काई खाए पनि हुने
नखाई पनि नहुने
खाए पनि सुख नदिने
आफ्नै बारीको मुला ।
होटल, रेष्टुरेन्ट, एकतारे, पाँचतारे
पार्टी होस् या सोलमारी
जहाँ जानुहुन्छ जानुहोस्
पेटभरी मुला खानुहोस्
हजम गर्नुहोस् अक्ड्म बक्ड्म
ढ्याउ्अ डकार्नुहोस्
ड्वाइ्इँ पड्काउनुहोस्
छाड्नुहोस् अजीर्ण अपान वायु
निरोगी हुनुहोस् बढाउनुहोस् आयु
खानुहोस् चपाउनुुहोस् मज्जाले मुला ।
सुकुटी बनाएर होस् या सिन्की
खाँदेर, भुटेर, तारेर , अचार पारेर
जिब्रो पड्क्याई–पड्क्याई खानुहोस् मुला
सुप बनाएर सुर्क्याउनुहोस् या
मुलासित तीनपाने तुर्क्याउनुहोस्
मुलाले तपाईँलाई स्वाद र सन्तुष्टि दिन्छ
त्यसैले होला,
तल्लाघरे मुले साइले
सधैभरी तरकारीमा मुला नै किन्छ ।
रातो, सेतो ,गान्टे, तन्के
अनेक रुप, रङ्ग र आकारको मुला
रङ्गभेद जातिभेद वर्ग भेद गर्दैन
न भन्छ साना, न भन्छ ठुला
धनी,गरिब, माले, काले
न भन्छ यसले,भेना र साला
जस्–जस्ले मुला खाला
उसैले पाउँछ मुलाको चाला र माला ।.
मान्छे जस्तै छ मुला
मुला जस्तै छ मान्छे
अनेक रुप, रङ्ग र आकारको ।
स्वाद दिन्छ, सन्तुष्टि दिन्छ ।
फुस्स फुस्कियो भने
बदनामी दिन्छ ।
त्यसैले होला,
उखानै छ
मुला खाई वनमा पस
अदुवा खाई सभामा बस
पदुवा भई नजिक नबस ।
जब,
मान्छेलाई झर्काे लाग्छ
झोंक चल्छ
सिरिङ् चल्छ
कम्पारो तात्छ
फलाक्न थाल्छ
प्वाक्क भनिदिन्छ
ह्या मुला
ओइ मुला
तँ मुला
चुप् लाग् मुला
भुक्छस् मुला
टोक्छस् मुला
बोक्छस् मुला
खोक्छस् मुला ।
गान्टे मुला ,च्यान्टे मुला
धाक भन्दा धक्कु ठुला
हिड्न लागे खुट्टा लुला
कुरा गर्छस् धेरै ठुला ।
झनक्क झन्किन्छ
सनक्क सन्किन्छ
अनि भन्किन्छ
ओइ मुलाको साग
झारपात
काटुँला तँलाई मुला काटेझैं ।
अनादर भइरहन्छ मुलाको
तर
मान्छेले झैं आफ्नो धर्म कहिल्यै छाड्दैन मुलाले ।
भान्सामा त्यहीँ मुला
अचार,तरकारी, सलाद र सिन्की बनेर
जिब्रो पड्क्याउन ,
भुँडी उस्क्याउन
त्यहीँ मुलाको साथ चाहिन्छ
मुला भए
तीन थालको भात एक्लै खाइन्छ ।
त्यसैले
मुलाको साथ सधै–सधै चाहिन्छ ।
विष्णुमतिको मुलाझैं
कति फुलिएछस् हौ दले ?
बिर्खेको कुराले दलेलाई झ्वाँक चल्यो
र भन्यो
ओइ मुला ! तँजस्तो गान्टे मुला हो र ?
दलेले मुखभरिको जवाफ दियो
बिर्खेले यो कुरा गम्भिरतापूर्वक लियो
खोज्दै जाँदा नालीबेली
गाँठी कुरा फेला पर्यो ।
चाकरी चाप्लुसी र चम्चागिरीको भरमा
जि .एम, सि. एम., पि .एम. बनेको दले
पड्काएछ अनेक पद
कुम्ल्याएछ काले धन
र त
सुकिलो मुकिलो भएर रातो मुला झैं
बाहिर रातो भित्र सेतो
त्यो भन्दा भित्र कालै कालो
आखिर दले परेछ
सत्ताधारी मन्त्रीको आफ्नै सालो
र त
पाएछ दलेले जल र मल राम्रै
चुसेर रगत र पसिना जम्मै हाम्रै
अनि पो मौलाएछ दले
विष्णुमतिको मुला मौलाए झैं ।