पाल्पा । इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकले आफ्ना ग्राहकहरुलाई आईपी भी सिक्समा लैजाने तयारी थालेको छ । कम्पनीले यसै आर्थिक वर्षको अन्त्यसम्ममा सबै ग्राहकहरुलाई गुणस्तर सेवा प्रदान गर्ने गरी आईपी भी सिक्समा लैजाने तयारी थालेको हो । वल्र्डलिंकका अनुसार अहिलेसम्म चार लाख ग्राहकहरुमध्ये एक लाख ५५ हजार मात्र भी सिक्स प्रोटोकल नेटवर्कमा जोडिएका छन् । बाँकीलाई नेटवर्कमा जोड्ने तयारी भएको कम्पनीले जनाएको छ । वल्र्लडलिंकले डेलिभर गर्ने कुल इन्टरनेट ट्राफिकको २० प्रतिशत अर्थात् १ सय ६५ जीबी इन्टरनेट ट्राफिक भी सिक्सका प्रयोगकर्ताहरुले प्रयोग गर्ने गरेका छन् । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक पर्दछ, जसलाई इन्टरनेट प्रोटोकल आईपी एड्रेस भनिन्छ ।
यो एड्रेस इन्टर्नेट असाइन नम्बर प्राधिकरण भन्ने अमेरिकी संस्थाले सबै इन्टरनेट सेवा प्रदायकहरुलाई बाँडफाँड गरी प्रदान गरेको हुन्छ । आईपी एड्रेसका दुई संस्करण हुन्छन् । एउटा आईपी भर्सन फोर हो भने अर्को आईपी भर्सन सिक्स हो । सुरुको भर्सन आईपी भी फोरमा चार अर्ब ३० करोड वटा पब्लिक एड्रेसहरु रहेका छन् । आईपीभी सिक्सभित्र आईपी एड्रेस यति धेरै छन् कि जुन कहिल्यै समाप्त हुने छैनन् । जसले गर्दा विश्वमा भविष्यमा इन्टरनेटसँग जोडिने हरेक डिभाइसका लागि यसले छुट्टाछुट्टै रोउटेबल एड्रेस असाइन गर्ने क्षमता कम्पनीले जनाएको छ । यसमा एनएटी प्रविधिको आवश्यकता नहुने हुँदा यो आईपीभी सिक्समा आईपीभी फोरको तुलनामा इन्टरनेट एक्सेस अली मजबुझ हुने जनाइएको छ ।