Shittalpati
प्रभावकारी सेवाप्रवाहका लागि स्थानीय तहमा सहायता कक्ष

रमेश विश्वकर्मा
गुल्मी, प्रभावकारी सेवा प्रवाहका लागि जिल्लाको एक स्थानीय सरकारले सहायता कक्ष सञ्चालनमा ल्याएको छ । गुल्मीदरबार गाउँपालिकाले कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रभावकारी र सहज बनाउनका लागि सहायता कक्ष सञ्चालन ल्याएको हो । गाउँपालिकालाई सुशासन, उत्तरदायी र जनमैत्री बनाउँदै सबै जनताको अपनत्व हुने गरी विकास र समृद्धिको दिशामा लागेको यो अभियानमा सहायता कक्षको महत्वपूर्ण भूमिका हुने गाउँपालिका अध्यक्ष अशोक कुमार थापाले बताए । उनले गाउँपालिकाका सबै कोठाहरुको नम्बरि­ङ्ग र एक्टेक्सन नम्बरको व्यवस्था गरिएको, पालिकाका शाखा प्रमुख र वडा सचिवलाई पालिकाको सिमकार्ड उपलब्ध गराई नागरिकले जुनसुकै समयमा पनि सम्पर्क गरी आवश्यक जानकारी तथा सोधपुछ गर्न सक्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाइएको बताए ।

सेवा प्रवाहमा एकरूपता कायम गर्न तथा नागरिकको सहज पहुँच स्थापित गर्न गाउँपालिकामा सहायता कक्ष सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए । सहायता कक्षबाट पालिकामा सेवा लिन आउने नागरिकहरुले पेश गर्नुपर्ने विभिन्न निवेदनहरुको ढाँचा उपलब्ध गराईने र उनीहरुको काममा सहजिकरण गरिदिने व्यवस्था मिलाईएको छ । त्यस्तै निवेदन लेखिदिने के कामको लागि के–के कागजात चाहिन्छ र कुन कोठामा के काम हुन्छ भन्ने विषयमा जानकारी दिने व्यवस्था मिलाईएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताए । सबै शाखाहरुबाट सम्पादन गरिएका कार्यहरुको दैनिक र मासिक प्रगती प्रतिवेदन तयार गरी पालिकाको समग्र क्रियाकलापहरुलाई समेटेर मासिक ई–बुलेटिन प्रकाशन गर्ने व्यवस्था मिलाईएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत र पालिकाका सबै शाखा प्रमुख र वडा सचिवहरुसँग उनीहरुले गर्ने कार्य विवरण र उपलब्धीका सूचकहरुलाई समावेश गरिएर कार्य सम्पादन सम्झौता गरी प्रभावकारी सेवा प्रवाहको प्रबन्ध मिलाईएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जानकारी दिए । कृषकसँग कृषि प्रावधिक र पशु प्राविधिक कार्यक्रम सञ्चालनार्थ सम्पूर्ण वडाहरुमा प्राविधिक कर्मचारीहरु खटाईने छ । उनीहरुले कुन–कुन कृषकहरुसँग भेट गरे । कृषकहरुले के–के उत्पादन गरे । उनीहरुका समस्याहरु के–के छन् भन्ने विषयमा प्राविधिक सहयोग दिने व्यवस्था मिलाई प्राविधिक कृषकसँग भेट गरेको नगरेको सम्बन्धमा प्रगती प्रतिवेदन र अनुगमन गर्ने व्यवस्था समेत मिलाईएको छ । गाउँपालिकामा कर्मचारीलाई कार्य सम्पादनको आधारमा प्रोत्साहन दिने नीति समेत रहेको गाउँपालिकाले जनाएको छ । पालिकामा भष्ट्राचार शून्य सहनशिलताको नीति अवलम्ब गरी सेवा प्रवाह, सुशासन विकास प्रशासनलाई सँगसँगै लगि कोभिड–१९ संक्रमण रोकथाम नियन्त्रण गर्दै समृद्ध पालिका बनाउन पालिकाका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरु लागि परेको गाउँपालिका अध्यक्ष थापाले बताए । गाउँपालिकाले २०७७ श्रावण महिनामा भूमि बैंक सम्बन्धी कार्यविधि–२०७७, संघ संस्था दर्ता सम्बन्धी कार्यविधि–२०७७, व्यवसाय दर्ता, नविकरण तथा कर सम्बन्धी कार्यविधि–२०७७, सार्वजनिक खर्च मितव्ययीता सम्बन्धी निर्देशिका–२०७७ समेत जारी गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update