Shittalpati
एकै दिन एक हजार बढी संक्रमित फेला, सातको मृत्यु

काठमाडौं । नेपालमा कोभिड–१९ को संक्रमण पछिल्लो २४ घण्टामा थप अहिलेसम्मकै सबभन्दा बढी एक हजार १६ जना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मंगलबार एक हजार १६ नयाँ संक्रमित देखिएका हुन् । मन्त्रालयले गरेका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले अहिले सम्मकै सबभन्दा बढी संक्रमित फेला परेको जानकारी दिए । विभिन्न ४० प्रयोगशालामा १३ हजार ४ सय ६१ जनाको गरिएको पिसीआर परीक्षणमा एक हजार १६ जनामा संक्रमण भएको पाइएको हो ।

यसअघि एकै दिन ७ सय ४१ जनामा संक्रमण देखिएको थियो । मंगलबार देखिएका संक्रमितसँगै कूल २८ हजार २ सय ५७ जनामा संक्रमित रहेका छन् । नेपालमा पहिलो पटक गत माघ ९ गते चीनको वुहान शहरबाट आएका विद्यार्थीमा संक्रमण देखिएको थियो । उनका अनुसार सक्रिय संक्रमित १० हजार ५ सय ६३ जना रहेका छन् । यसैगरी मंगलबार ८५ जना संक्रमित जितेर घर फर्किएका छन् । अहिलेसम्म १७ हजार ५ सय ८० जना संक्रमित निको भई घर फर्किसकेको उनले बताए । अहिलेसम्म ६२.२ प्रतिशत संक्रमित निको भई घर फर्किसकेका छन् । अहिलेसम्म पाँच लाख ४२ हजार ८ सय ६६ जनाको पिसीआर परीक्षण गरिएको छ । मुलुकभरि क्वारेन्टिनमा १३ हजार ९ सय ३६ जना रहेका छन् ।

सात जनाको मृत्यु

पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.गौतमले संक्रमणको कारणले पछिल्लो २४ घण्टाका सात जनाको निधन भएको जानकारी दिए । उनका अनुसार काभ्रे, नवलपरासी, कास्की, मोरङ, धनुषा र बाँकेका एक/एक जना पुरुष तथा तनहँुका एक जना महिलाको संक्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म १ सय १४ जना संक्रमणबाट मृत्यु भएका छन् । –रासस

प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update