रमेश विश्वकर्मा
गुल्मी । अनुदानबाट कृषकहरु लाभान्वित भएका छन् । जिल्लाको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि कृषकहरु लाभान्वित भएका हुन् । कृषकहरुले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा समस्यामा परेका कृषकहरु गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि उत्साहित भएका छन् । गाउँपालिकाले गत वर्षदेखि उत्पादनमा आधारित अनुदान वितरण गर्न शुरु गरेको हो । गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले यस आर्थिक वर्षको सुरुवाती चरणमा नै गाउँपालिकाले १६ लाख ३४ हजार रुपैयाँ कृषकलाई अनुदान वितरण गरिसकेको बताए । उनले सहकारी मार्फत अनुदान वितरण गर्दै आएको र अनुदानबाट अत्याधिक कृषकहरु लाभान्वित भएको बताए । कृषकले उत्पादन गरेको कृषि उपज खेर जान नदिन, कृषकलाई सहि मूल्य दिन, पशुपालन तथा कृषि क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाले यस्तो कदम चालेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
मासुमा आत्मनिर्भर बनाउनको लागि गाउँपालिकाले कृषकले उत्पादन गरेको मासुमा प्रतिकिलो १ सयका दरले अनुदान दिदैँ आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले कुनै कृषकले कम्तीमा १ सय किलो मासु उत्पादन गरेमा प्रति केजी १ सयका दरले अनुदान पाउने बताए । कुनै कृषकले बोका तथा खसीको कम्तीमा १ सय किलो मासु उत्पादन गरेमा उक्त कृषकले १० हजार अनुदान पाउने छन् । अनुदान पाउनको लागि गाउँपालिका भित्रका कृषकहरुले गाउँपालिकामा रहेको सहकारी मार्फत कृषि उपज तथा खसी बोका बेच्नु पर्ने हुन्छ । गाउँपालिकाको यो कार्यक्रमले कुषि र पशु क्षेत्रमा कृषकको आर्कषण बढ्दो छ । अनुदानले गाउँपालिका भित्रका नेटा, दर्लिङ्ग, अर्खवाङ्ग, छापहिले, अर्जै, घमिर र मर्भु· वडाका कृषकहरु हर्षित छन् । गाउँपालिकाले मासुमा प्रतिकिलो १ सय, दूधमा प्रति लिटर ५, अण्डामा प्रतिगोटा २ का दरले अनुदान दिँदै आएको छ । गाउँपालिकाले यस वर्ष पनि उत्पादनमा आधारित अनुदानको लागि ३० लाख रकम विनियोजन गरेको जनाएको छ ।