पाल्पा । नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कोरोना बिमा गर्न थालिएको छ । वित्तीय संघ–संस्थाहहरुमा कार्यरत व्यक्तिहरु पनि संक्रमणको उच्च जोखिममा रहने भएकाले सम्बन्धित संघ–संस्थाहरुले आ–आफ्ना कर्मचारीहरुको कोरोना बिमा गर्न थालेका छन् । यसै बीचमा ग्लोबल आइएमई बैंक लिमिटेडले पनि कोरोना भाइरस (कोभिड–१९) को बढ्दो कहरलाई मध्यनजर गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुको कोरोना बिमा गराईदिएको छ ।
बैंकले यस विषम र प्रतिकुल अवस्था पनि आफ्ना ग्राहकहरुलाई सेवा दिनका लागि खटिरहेका कर्मचारीहरुको सुरक्षालाई प्राथमिकता दिई स्थायी, करार, प्रशिक्षार्थी तथा परीक्षणकालमा रहेका, कार्यालय सहयोगी, सुरक्षा गार्ड लगायत बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोभिड–१९ बिमा गराएको हो । बैंकले आफ्नो हरेक कर्मचारीको एक लाख रुपैयाँ बराबरको बिमा गराएको छ । बिमामा उल्लिखित सम्झौता अनुसार बैंकको कर्मचारीमा कोरोना संक्रमण भई पीसीआर परिक्षणमा कोभिड–१९ पोजेटिभ देखिएको अवस्थामा बिमा कम्पनीबाट बिमा दावी रकम भुक्तानी हुने व्यवस्था मिलाएको छ । यो कोरोना बिमाबाट बैंकमा कार्यरत कर्मचारीहरुको मनोबल बढ्नुका साथै कर्मचारीहरुलाई आर्थिक राहत समेत मिल्ने बैंकले विश्वास लिएको छ । बैंकले सुरक्षाका उपायहरु अपनाएर सेवा प्रदान गर्दै आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, सेनिटाइजर, पन्जा, फेस सिल्ड लगाएका अत्यावश्यक सामग्रीहरुको अभाव हुन नदिई सुरक्षित रुपमा सेवा प्रदान गर्न अभिप्रेरित गरेको छ ।