रामचन्द्र रायमाझी
पाल्पा । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणमा सक्रियता देखाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध हातहतियार नियन्त्रणमा समेत सक्रियता बढाएको छ । जिल्लाका अधिकांश स्थानमा रहेका अवैध हतियारका विषयमा प्रहरीले गोप्य सूचना संकलन गरी उक्त अवैध हातहतियार सहित राख्ने व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको हो । गतवर्ष गृहमन्त्रालय मार्फत प्रशासन र प्रहरीले व्यक्ति विशेषले राखेका अवैध हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको भएपनि केही व्यक्तिहरुले सार्वजनिक सूचनाको बेवास्ता गरी अवैध रुपमा हातहतियार राखेको पाइएपछि जिल्ला प्रहरी कार्यालयले यसतर्फ सक्रियता बढाएको छ ।
प्रहरीले गोप्य सूचनाको आधारमा गत बुधबार रैनादेवी छहरा गाउँपालिका ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्तिलाई पक्राउ गरेको थियो । छचुवाका गनबहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो । भरुवा बन्दुक अवैध रुपमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले निजको घरमा खान तलासी गर्ने क्रममा १ नाले भरुवा बन्दुक, बारुद गन्दक र छर्रा फेला पारेको थियो । प्रहरीले उनलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना ऐन अन्तर्गत म्याद थप गरी कारवाही अगाडि बढाएको छ । त्यसको तीन दिन पछि अर्थात् शनिबार पुनःप्रहरीले सोही वडाको भुवनपोखरीको बेल्गामा अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ गरेको छ । भुवनपोखरी बेल्गाका ४७ वर्षीय भोजबहादुर खाम्चा र २१ वर्षीय दीपेन्द्र खाम्चालाई अवैध भरुवा बन्दुक सहित प्रहरीले प्रक्राउ गरेको हो ।
भरुवा बन्दुक अवैध रुपमा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरुको घरमा खान तलासी गर्ने क्रममा अवैध भरुवा बन्दुक फेला पारेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना ऐन अन्तर्गत कारवाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनीहरु एकै परिवारका दाजुभाइ रहेको बताइएको छ । प्रहरीले पछिल्लो समय अवैध हातहतियारका कारण सर्वसाधारणको ज्यान जाने क्रम बढेपछि धमाधम अवैध हातहतियार नियन्त्रणमा लिएको हो । यसरी धमाधम अवैध रुपमा हातहतियार भेटिन थालेपछि जिल्लाका अधिकांश स्थानमा ठूलो मात्रमा अवैध हतियार रहेको अनुमान गर्न सकिन्छ । आफूलाई ठूलावडा देखाउने व्यक्तिसँग नै अवैध हतियार बढी भएको अनुमान छ । यसले प्रहरीको सूचनालाई जिल्लाका अवैध हतियारधारीले बेवास्ता गरेको पुष्टि भएको छ ।