Shittalpati
पाल्पामा कुटपिटबाट एक पुरुषको मृत्यु, पोष्टमार्टमका लागि काठमाडौं पुर्‍याइयो

रामचन्द्र रायमाझी
पाल्पा । जिल्लाको निस्दी गाउँपालिका ७ ज्यामिरे अदमाराका एक पुरुषको स्थानीय युवकको कुटाईबाट मृत्यु भएको छ । साउन १० गते घर नजिकैको खेल मैदानमा खेल हेर्न पुगेका अदमारका ४२ वर्षका पुरुष रिकमान दिसुवाको स्थानीय २० वर्षका दुर्गाबहादुर सारुको कुटपिटबाट घाइते भएका थिए । घाइते उनको १७ दिनपछि घरमै मृत्यु भएको हो । खेलिरहेका सारुले बसेर खेल हेरिहेका दिसुवालाई एक्कासी कुटपिट गरेको स्थानीय खमबहादुर सौमैले बताए ।

कुटपिटबाट दिसुवाको टाउँको, आँखा, ढाडमा चोट लागेको थियो । उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएपनि टाउँकोमा गम्भीर चोट लागेकाले उनको मृत्यु भएको स्थानीयले बताएका छन् । घटना गम्भीर भएपनि स्थानीय केही व्यक्तिहरुले गाउँमै मिलापत्र गरेकाले घटना सार्वजनिक हुन सकेको थिएन् । स्थानीय केही व्यक्तिहरुले कुटपिट गर्ने दुर्गाबहादुर सारुबाट २५ हजार दिन लगाएर घटना मिलाएको स्थानीय खमबहादुरले बताए । उनका अनुसार उक्त व्यक्तिबाट २५ हजार लिए पनि मिलापत्र गर्ने स्थानीय खेमबहादुर गाहाले दिसुवाको उपचारका लागि १२ हजार मात्र दिएका थिए । अन्य रकम भने मिलापत्र गर्ने व्यक्तिहरुले गाउँमै रक्सी, मासु खाएको बताइएको छ । राजनीतिक प्रतिशोध साँचेर स्थानीय केही टाउँकेहरुले घटना लुकाउन खोज्दा यस्तो समस्या उत्पन्न भएको स्थानीयले बताएका छन् । दिसुवाको आर्थिक अभावका कारण समयमै उपचार हुन नसक्दा मृत्यु भएको हो । घटनालाई गाउँमै लुकाएका कारण पनि समयमै प्रहरी समक्ष जानकारी हुन सकेको थिएनन् । दिसुवाको मृत्यु पछि मात्र आफन्तले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । उनका अनुसार परिवारले साउन २७ गते मात्र जाहेरी दिएका थिए । जाहेरीका आधारमा सारुलाई नियन्त्रणमा लिई ज्यान मार्ने सम्बन्धी मुद्दा चलाइएको डिएसपी गिरीले बताए । उनका अनुसार शुक्रबार थप सात दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । 

जिल्लामा पोष्टमार्टम हुन सकेन

आकस्मिक वा शंकास्पद रुपमा मानिसको मृत्यु भएमा मृत्यको कारण पत्ता लगाउन पोस्टमार्टम गरिन्छ । अन्य कारणबाट मृत्युको कारण पत्ता नलागेमा अन्तिम विकल्पको रुपमा फरेन्सिक विशेषज्ञ डाक्टरहरुले शवलाई विभिन्न कोणबाट चिरफार गरी भित्री र बाह्य अंगको अध्ययन र परीक्षण गरेर मृत्युको कारण पत्ता लगाउने गर्दछन् । जसका लागि प्रत्येक जिल्लामा पोष्टमार्टका लागि व्यवस्था गरिएको छ । तर निस्दी गाउँपालिका ७ ज्यामिरे अदमाराका रिकमान दिसुवाको भने जिल्लामा विशेषज्ञ नभएका कारण पोष्टमार्ट हुन सकेन । आफन्तले पोष्टमार्टमका लागि दिसुवाको शवलाई रामपुर अस्पताल पुर्‍याएपनि अस्पतालले आफुसँगै विशेषज्ञ नभएकाले जिल्ला अस्पताल पठाएको थियो । जिल्ला अस्पतालले पनि आफुसँग सोही अनुरुपको विशेषज्ञ नभएकाले टिचिङ्ग अस्पताल पठाइएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए । पाल्पामा पोष्टमार्टम नभएपछि उनको बिहीबार राति आफन्तले शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएका थिए । पोष्टमार्टमपछि उनको शुक्रबार काडमाडौंको आर्यघाटमा अन्तिम दाहसंसकार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update