पाल्पा । कोरोना संक्रमण फैलिदै गएपछि बुटवलमा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना संक्रमण फैलिदै गएपछि बुटवल उपमहानगर क्षेत्रभित्र भदौ ५ गतेसम्मका लागि लकडाउन गरिएको हो । बुटवल उपमहानगरको बुधबारको बैठकले आगामी भदौ ५ गतेसम्म पूर्ण लकडाउन गर्ने निर्णय गरेको थियो । सो निर्णय अनुसार बिहीबार राति ११ः४५ बजेदेखि भदौ ५ गते ११ः४५ बजेसम्म लकडाउन गरिएको हो । लकडाउन अवधिभर बुटवल भित्रका खाद्यान्न पसल बिहान ७ देखि ११ बजेसम्म मात्रै खुल्न पाउने छन् । दूध उद्योग बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म मात्रै खुल्न पाउने उपमहानगरपालिकाले जनाएको छ ।
लकडाउनपछि सार्वजनिक र निजी सवारी सञ्चालनमा समेत रोक लगाइएको छ । उपमहानगरपालिकाले होटल तथा रेष्टुरेन्ट पनि बन्द गर्न निर्देशन दिएको छ । बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाकाले जनाएको छ । लकडाउन अवधिमा स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी ढुवानी जस्ता अत्यावश्यकीय सेवा सञ्चालनमा आउन दिइने छ ।