कृष्ण पोखरेल
पाल्पा । १५ दिन सम्म घर-घरमा धारा नआएपछि तिन दिनदेखि धर्नामा बसेका उपभोक्ता एवं पत्रकार जगदीश भट्टराईले माग सम्बोधन हुने लिखित प्रस्ताव आएपछि धर्ना कार्यक्रम स्थगित गरेका छन् । साउन २५ गते आइतबारदेखि धर्नामा बसेका भट्टराईका मागप्रति तानसेन खानेपानी उपभोक्ता समितिले लिखित रुपमा सहमती जनाउँदै माग सम्बोधनको लागि काम शुरु गरेको जनाएको छ ।
तानसेन नगरपालिका वडा ५ बतासेडाँडा, कैलाशनगर क्षेत्रका उपभोक्ताहरुमा १५ दिनसम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई भट्टराईले धर्नामा बसेका हुन् । उनी आइतबार एक घण्टा, सोमबार दुई घण्टा र मंगलवार ३ घण्टा धर्नामा बसेका थिए । उपभोक्ता एवं पत्रकार भट्टराईले ५ नं प्रदेशका सभासद वीरबहादुर राना, वडा ५ का वडा अध्यक्ष रामबहादुर रावल, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, प्रेस संगठनका संयोजक राजेन्द्र लिगल, पत्रकार, मानव अधिकारकर्मीको सहभागितामा धर्ना कार्यक्रम स्थगित गरेका हुन् । समितिले तत्काल दुई दिन भित्र बतासेडाँडा र कैलाशनगर क्षेत्रका ४० घरमा वैकल्पिक व्यवस्थाबाट पानी वितरण गर्ने, भुल्केको लाईनको पानी बाईपास जडान गरी सञ्चालन गर्ने, बतासेडाँडाको लागि सिस्नेको पम्प स्टेशन २ नजिक रहेको मूलको पानी लिफ्ट गरी सञ्चालन गर्ने, प्रत्येक पम्प स्टेसनको लागि एक/एक पम्प जगेडाको लागि खरिद पक्रिया अगााडि बढाउने, दुई/तीन भित्र सिस्नेको पानी लिफ्ट गरी सञ्चालनमा ल्याउने, तानसेनका सबै स्थानमा समानुपातिक रुपमा पानी वितरण कार्य अगााडि बढाउने, सबै लिफ्ट प्रणालीका पम्प स्टेशनहरुमा नियमित रुपमा अनुगमन गरी समय समयमा मर्मत सम्भार गर्ने समितिद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उपभोक्ता भट्टराईले राखेका माग जायज भएको, यसले समितिलाई अझ क्रियाशील भएर काम गर्न उर्जा प्रदान गरेको बताउँदै समितिका कार्यवाहक अध्यक्ष एवं प्रदेश सभासद डा.पुरनमान बज्राचार्यले तानसेनको विद्युतको समस्याको कारण उपभोक्ताहरुमा नियमित रुपमा पानी वितरण गर्न नसकिएको बताए । बिग्रिएका मेशिन समयमा मर्मत नहुँदा समेत सबै उपभोक्ताहरुमा समान रुपमा पानीको धारा वितरण गर्न नसकिएको कार्यवाहक अध्यक्ष डा.बज्राचार्यले बताए । कार्यक्रममा समितिका सचिव केशवराज पौडेलले जनस्तरबाट गठन भएको समितिले तानसेनका जनतालाई खानेपानीको व्वस्थापन गर्ने काम चुनौतीपूर्ण भएको, समितिले रात दिन काम गर्दा गर्दै पनि सबै उपभोक्ताको घर–घरमा समानरुपमा पानी वितरण गर्न नसकिएको बताए । अबका दिनमा तानसेन खानेपानीको जिम्मेवारी स्थानीय सरकार नगरपालिकाले लिनुपर्ने उनले बताए ।
कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष भरत शर्माले समितिले सजिलै सक्ने काम पनि नागरिकप्रतिको बेवास्ताको कारण समयमा नभएको बताए । उपभोक्ताले पानी खान नपाएर कार्यालयमै आई धर्नामा बस्नु समितिको लागि पनि दुःखदायी भएको आज गर्ने प्रतिवद्धता आइतबारै गर्न सकिने भएपनि धर्नाबाट के हुन्छ ? भनी विषयवस्तुलाई सामान्यकरण गर्नु राम्रो नभएको महासंघका उपाध्यक्ष शर्माले बताए । धर्ना कार्यक्रम स्थगित गर्दै उपभोक्ता एवं पत्रकार भट्टराईले तानसेनवासीको घर–घरमा नियमित रुपमा पानीको धारा वितरण होस्, देखिएका समस्या दिर्घकालीन रुपमा समाधान होउन, भनेर आन्दोलनमा उत्रिनु परेकोले माग पूरा गर्ने प्रतिवद्धता चाडो भन्दा कार्यान्वयनमा आउनेमा आफु आशावादी भई धर्ना स्थगित गरेको बताए । उपभोक्ताका मागहरु पूरा नभएमा भोलिका दिनमा कठोर किसिमका आन्दोलन गर्न उपभोक्ता तयारी अवस्थामा रहेकोले सबैको सहमतिमा धर्ना कार्यक्रम स्थगित गरेको भट्टराईले बताए ।