पाल्पा । प्रदेश पाँचका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । प्रदेश पाँचको प्युठान र रुपन्देहीमा भएका घटनामा दुई जनाको मृत्यु भएको हो । प्यूठानको गौमुखी गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । वडा ४ बाग्लिबाङका रमेश सुनारको श्रीमती बर्ष २० कि सुसिला सुनारको भीरबाट लडेर मृत्यु भएको हो ।
ठूलाबेसी स्थित विद्यालयमा जान्छु भनी घरबाट हिडेकी उनी घरदेखि ३ किलोमिटर पुर्बमा रहेको बिशौनाकोट भिरबाट लडेर घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लागि स्वास्थ्य चौकीमा मृत्यु भएको प्रादेशिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै रुपन्देही सियारी गाउँपालिका ३ सितापुरमा खेलठट्टा गरी उचालेर फाल्दा एक जनाको मृत्यु भएको छ । सोही स्थानका ४० वर्षका ओमप्रकाश यादवले ५५ वर्षका जंगबहादुर बेलदारलाई मापसे गरी हासीमजाक गर्ने क्रममा उचालेर पछार्ने क्रममा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागि घाइते भएका थिए । घाइते उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पाल्पामा ट्याक्टर दुर्घटनामा एक घाइते
जिल्लाको तानसेन नगरपालिका १२ शृङखरकको भित्री सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जोर्तेदेखि लुहुङतर्फ दाउरा बोकी जाँदै गरेको लु २ त ७८१९ नम्वरको ट्याक्टर अचानक अनियन्त्रित भई सडक छेउमा पल्टिन जाँदा ट्याक्टर सहचालक घाईते भएका हुन् । सहचालक रोल्पा सुनछहरी गाउँपालिका ४ बस्ने १९ वर्षाका जसविर घर्ती मगर घाइते भएको प्रहरीले जनाएको छ । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।