Shittalpati
तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित, दोस्रो दिन पनि धर्नामा

पाल्पा । तानसेनमा खानेपानी उपभोक्ता आन्दोलित भएका छन् । १५ दिनदेखि घर–घरमा धारा नआएपछि उनीहरु आन्दोलित भएका हुन् । तानसेन नगरपालिका वडा ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरु घरमा दुई हप्ता भन्दा बढी हुँदा समेत धारामा पानी नआएपछि आइतबारदेखि शान्तिपूर्ण आन्दोलन स्वरुप धर्नामा बसेका छन् । स्थानीय उपभोक्ता तथा पत्रकार जगदीश भट्टराई धारामा १५ दिनसम्म पानी नआएपछि तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालयमै गई धर्नामा बसेका छन् । दोस्रो दिन सोमबार पनि भट्टराई सहित अन्य उपभोक्ताहरु पनि धर्नामा बसे ।

पटक–पटक मौखिक तथा लिखित गुनासो गर्दा समेत कैलाशनगरको बतासेडाँडा क्षेत्रका करीव ४० घर परिवार १४ दिनदेखि खानेपानीबाट बञ्चित भएपछि बाध्य भएर आन्दोलन स्वरुप धर्नामा बस्नु परेको उपभोक्ता तथा पत्रकार भट्टराईले बताए । तानसेन कैलाशनगरको बतासेडाँडा क्षेत्रका ४० घरपरिवार विगत ३ बर्षदेखि खानेपानी समस्याबाट पीडित भएको, पटक–पटक गुनासो गर्दा समेत समितिको कार्यालयबाट सुनुवाई नभएको, कार्यालयबाट गर्न सकिने काम समेत जिम्मेवारी पूर्वक नभएको, सामान्य काममा समेत कार्यालयबाट ध्यान नदिएकाले बाध्य भएर प्रतिनिधीमूलक रुपमा धर्नामा बसेको उपभोक्ता भट्टराईले बताए । आइतबार भट्टराई प्रतिनिधिमूलक रुपमा मात्र धर्ना बसे पनि सोमबार भने अन्य आक्रोशित उपझोक्ताहरु समेत २ घण्टा भट्टराईसँगै धर्नामा बसेका थिए । घरमा दुई हप्ताभन्दा बढी हुँदा समेत खानेपानी नआउँदा समस्यामा परेको स्थानीय उपभोक्ता दिपेन्द्र बज्राचार्यले बताए । कार्यालयमा आएर आक्रोसित बनेका बज्राचार्यले खानेपानी वितरणमा कर्मचारीको समेत लापरवाही भएको बताए । उनले आक्रोसित हुँदै भने ‘खाली धारा मात्र किन ? पानी नदिने भए हामी धारा बुझाउँछौ, स्वच्छ खानेपानी पिउने नागरिकको मौलिक अधिकार हो तर उपभोक्ता समिति र स्थानीय सरकारले अधिकार कुण्ठित गरे ।’ धारामा पानी नआएपछि ९ किलोमिटर टाढाबाट बोकेर खानुपरेको अर्को उपभोक्ता बिना गैरेले बताईन् । उनले भनिन्, ‘गाडी हुनेले त गाडीमा पानी बोकेर भएपनि दैनिकी चलाउलान्, तर हामी जस्ता साधन नभएका सामान्य वर्गका लागि भने समस्या परेको छ ।’ धारामा पानी नआउँदा आकासको पानीबाटै कपडा धुने, ट्वाइलेट जाने र पिउनका लागि घरदेखि ९ किलोमिटर तल मुहानबाट पानी बोकेर खाना बाध्य भएको मीना कप्डेलले बताईन् । उनले माग सम्बोधन नभए सबै उपभोक्ताहरु आन्दोलनमा जाने चेतावनी दिईन् ।

यो समस्या कैलाशनगरको बतासेडाँडाका उपभोक्ताको मात्र होइन । हरेक वर्ष तानसेनका उपभोक्ताहरुले खानेपानी अनियमितताको समस्या भोग्दै आएका छन् । यो समस्या एउटा टोलको मात्र नभएर सम्पूर्ण तानसेनवासीको भएकाले उनीहरुको शान्तिपूर्ण आन्दोलन स्वरुपको धर्नामा तानसेनका विभिन्न राजनितिक दल,समाजसेवी, मानवअधिकारकर्मी, जनप्रतिनिधिहरुले समेत ऐक्यवद्धता जनाएका छन् । सोमबार तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही, तानसेन ५ का वडा अध्यक्ष रामबहादुर रावल, राप्रपाका केन्द्रीय सदस्य डुलबहादुर कुंवर, शैक्षिक व्यक्तित्व मीनबहादुर केसी, मानव अधिकारकर्मी दिवाकर पाण्डे लगायतका व्यक्तिहरुले उक्त धर्नाप्रति ऐक्यवद्धता जनाएका छन् । उनीहरुले खानेपानी समस्याको दीर्घकालिन समधान खोज्न खानेपानी उपभोक्ता समितिलाई आग्रह समेत गरेका छन् । उपभोक्ता आन्दोलित भए दुई दिन हुँदा समेत समितिले कुनै पनि निर्णय गर्न सकेको छैन । तत्काल समितिको बैंठक बसी समस्याको समधान गर्न आफुहरु लाग्ने समितिका सचिव केशवराज पौडेलले बताए । उनका अनुसार सिस्ने खानेपानीको मेशिन बिग्रिएको, विद्युतको अनियमिता, तानसेन नगरपालिकाले जथाभावी रुपमा डोजर सञ्चालन गरी पानीको मुख्य पाइप लाईन पटक–पटक क्षतविक्षत पारिदिएकाले खानेपानी वितरणमा अनियमितता भएको बताए ।

उपभोक्ता भट्टराई पहिलो दिन १ घण्टा, दोस्रो दिन २ घण्टा धर्नामा बसेका छन् । माग सुनुवाई नहुँदासम्म प्रत्येक दिन एक/एक घण्टा धर्ना कार्यक्रम बढाउदै जाने उपभोक्ता भट्टराईले बताए । २४ औ दिनसम्म माग सुनुवाई नभएमा २४ घण्टा धर्नामा बस्ने उनले जानकारी दिए । कोभिड १९ को कारण सबै उपभोक्ता धर्नामा बसेर भिडभाड गर्नुभन्दा प्रतिनिधीमुलुक एक जना धर्नामा बसेको र माग सुनुवाई नभएमा दुरी कायम गर्दै धर्नामा उपभोक्ताहरुको संख्या बढ्दै जाने उपभोक्ता भट्टराईले बताए ।

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update