Shittalpati
भूपु सैनिकको भत्ता कटौती गर्ने सरकारको निर्णयको रामपुरमा विरोध

इमान सिं राना
पाल्पा (रामपुर) । विदेशबाट पेन्सन लिने नागरिकहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयसँगै देशैभरका भूपू गोर्खा सैनिकहरुले विरोध जनाएका छन् । देशका विभिन्न स्थानमा विरोध प्रदर्शन, धर्ना, र्‍याली तथा ज्ञापन पत्र बुझाउने कार्य भैरहेको छ । यता जिल्लाको पूर्वी क्षेत्रका भूपू सैनिकहरुले पनि रामपुरमा विरोध र्‍यालीसंगै ज्ञापन पत्र बुझाएर निर्णय फिता लिन माग गरेको छ । विदेशबाट पेन्सन लिने जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता कटौती गर्न असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनको लागि स्थानीय तहहरूलाई निर्देशन दिएको थियो । बेझाँड बजार चोकमा कोण सभा गरी उनीहरुले विरोध जनाएका हुन् ।

विरोध सभामा बोल्ने वक्ताहरुले सरकारले गरेको निर्णयले भूपू सैनिकहरुको आत्मसम्मानमा ठेस पुर्‍याएको बताएका थिए । विरोध सभामा बोल्दै आदर्श भूपू सैनिक संस्थाका संरक्षक क्याप्टेन धनबहादुर रानाले देशलाई विश्वमा चिनाएका गोर्खा सैनिकको आत्मसम्मानमा ठेस पुर्‍याउने काम गरेको भन्दै आपत्ति जनाए । उनले भने, ‘हाम्रा नेताहरुले भाषणमा जसरी गोर्खा सैनिकले पुर्‍याएको योगदानको चर्चा गर्छन् । त्यसको ठिक विपरित व्यवहार भएको छ । एक पटक इतिहासको पाना पल्टाएर हेर्न आवश्यक छ ।’ रानाले लोकतान्त्रिक सरकारले राणाले भन्दा पनि अझ तल्लो स्तरको व्यवहार गरेको बताए । आदर्श भूपूसैनिक संस्थाका सल्लाहाकार संयोजक सुवेदार केशर बहादुर खाँणले यो विरोध भूपू भारतिय तथा बेलायती गोर्खा सैनिकको लागि मात्र नभई भूपू नेपाली सैनिकको लागि पनि भएको बताए । उनले भारतीय तथा बेलायती गोर्खा सैनिकले नेपाललाई चिनाउन विश्वमा देखाएको बहादुरी र नेपाली सेनाले स्वदेश रक्षाको लागि देखाएको बहादुरीको उचित सम्मान गर्नु पर्ने बताउँदै भूपू नेपाली सेनालाई पनि सामाजिक सुरक्षा भत्ता दिनु पर्ने बताए । शेयर समितिका अध्यक्ष क्याप्टेन बलबहादुर जिसीले गोर्खा सैनिक रहरले नभई बाध्यताले गएको र उनीहरु कै कारण स्वदेशले पाएको उपलब्धी विर्सिन नहुने बताए । उनले भूपू सैनिकले स्वदेशबाट केही नपाएको र सामाजिक सुरक्षा भत्ता पनि कटौती गरिनु अनागरिक सरहको व्यवहार भएको बताए ।

भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुलका व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन देवबहादुर थापा मश्राङ्गीले भूपू सैनिकले सेवामा रहँदा रेमिटान्सबाट र अहिले स्वदेश फर्किएर दिएको योगदानको कदर हुन नसकेको बताए । कार्यक्रममा संस्थाका सदस्य हवल्दार राम बहादुर हिस्की, गाँडाकोट भूपू सैनिक संघका अध्यक्ष याम बहादुर थापा, चापाकोट भूपू सैनिक संघका अध्यक्ष तुल बहादुर शाही, संस्थाका सदस्य विनोद श्रेष्ठ, हवल्दार हुम बहादुर शाही, लेखा समितिका संयोजक जित बहादुर मल्ल, शिक्षक अभिभावक संघका अध्यक्ष हवल्दार पूर्ण बहादुर थापा र संस्थाका उपाध्यक्ष सिता प्रधान लगाएतले बोल्दै सरकारले आफ्ना नागरिकलाई समान व्यवहार गर्न आग्रह गरेका थिए । भूपूसैनिकले विदेशमा गरेको सेवा र कर्म वापत राज्यले ठूलो रेमिटेन्स प्राप्त गरेको भन्दै नेपाल सरकारले तत्काल आफ्नो निर्णय फिर्ता लिनु पर्ने बताएका थिए । आदर्श भूपू सैनिक संस्थाका अध्यक्ष सुवेदार राज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुवेदार पूर्ण बहादुर रानाले गरेका थिए । विरोध सभा पश्चात संस्थाले इलाका प्रशासन कार्यालय रामपुर र रामपुर नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update