Shittalpati
कृषि क्षेत्रमा बैंंकहरुले  १५ प्रतिशत लगानी गर्नुपर्ने

पाल्पा । अबदेखि नेपालमा बैंकहरुले कृषि क्षेत्रमा १५ प्रतिशत लगानी गर्नुपर्ने भएको छ । विगतमा १० प्रतिशमात्र कृषि क्षेत्रमा लगानी गर्दै आएका बैंकहरुले अबदेखि १५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने भएको हो । नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्थालाई थप कडाई गरेसँगै बैंकहरुले कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी गर्नु पर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले कृषि उत्पादनमा आत्मनिर्भर हुँदै खाद्य सुरक्षा कायम गर्न र बहुसंख्यक नेपालीको आय आर्जन तथा रोजगारीको आधारको रुपमा रहेको कृषि क्षेत्रको विकासका लागि वाणिज्य बैंले २०८० असार मसान्तसम्म कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि ०७७ असारसम्ममा बैंकहरुले गर्ने कुल ऋण लगानीको १० प्रतिशत कृषिमा लगानी हुनुपर्ने व्यवस्था थियो, अब बैंकहरुले कृषि कर्जामा १० को साटो १५ प्रतिशत लगानी गर्नु पर्नेछ । साथै कृषिमा लगानी बृद्धि गर्न कृषि विकास बैंक मार्फत कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था पनि नयाँ मौद्रिक नीतिले गरेको छ । राष्ट्र बैंकले यो वर्षको मौद्रिक नीति मार्फत कृषि कर्जाको सीमा बढाएको हो । यस अघिको व्यवस्था अनुसार वाणिज्य बैंकहरूले कृषि कर्जाको सीमा अनुसार ऋण लगानी गरिसकेका छन् । राष्ट्र बैंकको तथ्यांकअनुसार कृषि क्षेत्रमा जेठ मसान्तसम्ममा २ खर्ब ६१ अर्ब १५ करोड ऋण लगानी भएको । यो वाणिज्य बैंकहरूले प्रवाह गरेको कुल कर्जाको ९.७ प्रतिशत हो ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update