Shittalpati
रम्भा गाउँ सरकारको बजेट, कृषि र पशुपालन मार्फत  रोजगारमा केन्द्रीत

कृष्ण पोखरेल
पाल्पा । जिल्लाको रम्भा गाउँपालिकाले आगमी आर्थिक वर्षको बजेट कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको छ । गाउँ सरकारले आफ्नो गाउँ आत्मनिर्भर बनाऔँ अभियानका साथ बजेटको ठूलो हिस्सा २ करोड ७७ लाख ५० हजार कृषि र पशुपालन मार्फत रोजगारमा केन्द्रीत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको छ । कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गर्दै विदेशबाट फर्किएका र स्थानीय युवाहरुको रोजगार र स्वरोजगारको माध्यमबाट गरिबी न्यूनिकरण गर्दै रम्भालाई सामाजिक परिवर्तन सहितको आर्थिक सवलीकरणको दिशातर्फ उन्मूख गराउने लक्ष्य गाँउ सरकारको रहेको छ । गाउँपालिकाले ३ सय जना युवाहरुलाई आर्थिक वर्षभित्र रोजगारमा जोड्ने बताएको छ । स्वदेश तथा विदेशबाट रोजगारी गुमाई फर्किएका युवालाई लक्षित गरी गाउँपालिकाले बजेट केन्द्रीत गरेको हो । रोजगारी गुमाएर फर्किएका स्वदेशी तथा विदेशी युवाहरुलाई गाउँमै बसेर मासिक ३० देखि ४० हजार रुपैयाँ सजिलै कमाउने गरी कार्यक्रम, योजना तथा बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । युवाहरुले काम गर्नुपर्‍यो, जागर देखाउनु पर्‍यो गाउँमै परिवारसँग बसेर मासिक ४० हजारसम्म सजिलै कमाउने गरी गाउँपालिकाले कार्यक्रम तथा बजेट विनियोजन गरेको अध्यक्ष भण्डारीले बताए ।

गाउँ सरकारले युवाहरुलाई व्यवसायका लागि सहुलियत दरमा ५ लाख रुपैयाँ बिना धितो ऋण प्रदान गर्ने, बाख्रापालनमा प्रोत्साहन गर्न १०० वटा बाख्रा पालन गर्ने फर्मलाई नगद एक लाख अनुदान, खसीको मासुमा प्रति केजी ५० रुपैयाँ, लोकल कुखुरामा प्रति केजी ३० रुपैयाँ र दूधमाप्रति लिटर २ रुपैयाँ अनुदान प्रत्यक्ष रुपमा उत्पादकले पाउने गरी व्यवस्था गरेको छ ।प्रत्येक किसानको उत्पादन विक्री वितरणका लागि १२ महिना कृषि एम्बुलेन्स सञ्चालन गर्ने गरी कार्यक्रम ल्याएको अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाका प्रवक्ता कृष्णप्रसाद रेग्मीले पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी दिनमा रम्भा गाउँपालिकालाई नमूना गाउँपालिका बनाउने गरी कार्यक्रम बजेट विनियोजन गरिएको बताए । कृषि, पशु शिक्षा र स्वास्थ्यमा गाउँपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको प्रवक्ता रेग्मीले जानकारी दिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले चालुतर्फ ४ करोड ६ लाख १० हजार, शिक्षातर्फ १ करोड ३९ लाख ४५ हजार, स्वास्थ्यतर्फ १ करोड ९० लाख ६ हजार, कृषि तथा पशुतर्फ २ करोड ७७ लाख ५० हजार, लक्षित कार्यक्रम तर्फ १ करोड ५ लाख, विविधतर्फ ८६ लाख ५ हजार रुपैयाँ विनियोजन गरिएको बताए । भौतिक पूर्वाधारमा १ करोड १५ लाख, खानेपानीमा ३१ लाख, भवन निर्माणमा ९६ लाख, सिचाईमा १० लाख ५० हजार, खेलकुदमा ६ लाख ५० हजार रकम छुट्टाएको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट काम गर्ने कर्मचारी, शिक्षक र विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । पालिकाले कार्यालय सहायक हरिप्रसाद भण्डारी, रकमादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक धातानन्द बस्याललाई १० हजार नगद र दोसल्लाबाट सम्मान गरेको छ । यसैगरी बालसहयोगी हरिकला पाठक, जनता माविका प्रधानाध्यापक कमला श्रेष्ठ, उत्कृष्ट विद्यार्थी अनमोल तिवारी र आयुसा रानालाई पनि गाउँपालिकाले नगद सहित सम्मान गरेको हो ।

गाउँपालिकाबाट सम्पादन हुँदै आएको न्याय क्षेत्रको काम प्रभावकारी भएकाले आगामी दिनमा गाउँलाई सुन्दर शान्त र मेलमिलाप सहित गाउँपालिका निर्माण गर्न आफु क्रियाशील भएर लाग्ने पालिकाकी उपाध्यक्ष राधादेवी श्रेष्ठले बताइन् । पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालले सबै पालिकाहरुको चुनौती विदेशबाट आएका व्यक्तिहरुको व्यवस्थापन रहेकाले स्वदेश तथा विदेशबाट आएकाहरुलाई गाउँ ठाउँमै रोजगारी दिन सके मात्र पालिकाको सफलता देखिने बताए ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update