Shittalpati
मौद्रिक नीतिमार्फत ऋण तिर्ने म्याद थपियो

पाल्पा,कोरोनाबाट प्रभावित क्षेत्रका ऋणीहरूका लागि ऋण तिर्ने अवधि थपिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कोभिड– १९ का कारण अर्थतन्त्रमा पारेको प्रभावलाई सहज बनाउन ऋणीहरूका लागि ऋण तिर्ने अवधि २ वर्षसम्म थप गरेको हो । आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रभावित क्षेत्रलाई ६ महिनादेखि २ वर्षसम्म ऋण तिर्ने म्याद थपिएको जानकारी दिएका हुन् । कोभिड–१९ को कारण पर्यटकको लागि खोलिएका ठूला होटलको हकमा अधिकतम २ वर्ष, अति प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा एक वर्ष सम्म, मध्यम प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ९ महिना र निम्न प्रभावित क्षेत्रमा प्रवाहित कर्जाको हकमा ६ महिनासम्मका लागि एक पटक ग्रेस अवधि थप गर्न सकिने गभर्नर अधिकारीले बताए ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको बुँदा नम्बर ५४ मा कोभिडको सन्दर्भमा विशेष नीतिगत व्यवस्था गर्दै ब्याज छुटदेखि कर्जाको भाका सार्ने सम्मका व्यवस्था गरेको छ । ऋणीले २०७६ चैत, २०७७ वैशाख र जेठ मसान्तमा भुक्तान गर्नुपर्ने कर्जाको साँवा र ब्याज रकम २०७७ असार मसान्तसम्म भुक्तान गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै ऋणीले २०७६ चैतमा भुक्तान गर्नुपर्ने किस्ता सोही महिनामा भुक्तानी गरेमा ब्याजमा १० प्रतिशत छुट पाउने व्यवस्था राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत गरेको छ । चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी २ महिनासम्म थप गर्न सकिने व्यवस्था समेत मौद्रिक नीतिमा उल्लेख गरिएको छ ।

त्यस्तै अबदेखि एउटा बैंकमा खाता खोल्न ग्राहक पहिचान फारम भरिसकेपछि अर्को बैंकमा खाता खोल्दा फेरि फारम भर्नु नपर्ने भएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले परिपत्र जारी गरेपछि यो व्यवस्थाको कार्यान्वयन हुनेछ । त्यस्तै एउटा बैंकको एटिएम अर्को बैंकको एटिएम बुथमा प्रयोग गर्दा पैसा नलाग्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण लकडाउन सुरु भएपछि बैंकले एटिएम प्रयोग गर्दा शुल्क नलिने व्यवस्था गरेका थिए । असार मसान्तपछि भने पहिला जस्तै अन्तर बैंक एटिएम प्रयोगमा शुल्क लिन थालेका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update