इमानसिं राना
पाल्पा(रामपुर) । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७१ करोड २० लाख ३० हजारको बजेट पारीत गरेको छ । नगर सभाले झण्डै ५ करोड रुपैयाँ रकम संसोधन थप गरी बजेट पारित गरेको हो । नगरपालिकाले गत १० गते पारित गरेको निती तथा कार्यक्रममा ६५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको थियो । बजेट पारित भएसंगै विहिबार विहान पत्रकार सम्मेलन मार्फत नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बजेटका बारेमा जानकारी दिएका हुन् । उनले कोभिडका कारण रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई लक्ष्यित गर्दै आर्थिक आगामी वर्षका लागि बजेटहरु ल्याईएको बताए । होटेल न्यू श्रीनगरमा भएको पत्रकार सम्मेलनमा न्यौपानेले आम्दानीतर्फ संघीय शसर्त ३० करोड ६५ लाख, संघीय विशेष अनुदान तर्फ १ करोड, प्रदेश सशर्त ३ करोड ७८ लाख ५० हजार, प्रदेश समपुरक अनुदान तर्फ २ करोड ३४ लाख ८० हजार, प्रदेश विशेष अनुदान तर्फ ७० लाख, संघीय समानिकरण अनुदान ११ करोड ९३ लाख, प्रदेश समानिकरण अनुदान ५४ लाख ३१ हजार, प्रदेश सरकार राजस्व बाडफाड ८९ लाख ९७ हजार, संघीय राजस्व बाडफाड तर्फ ८ करोड ७१ लाख ८९ हजार ६ सय ४०, आन्तरिक श्रोत तर्फ ७ करोड ३९ लाख ६० हजार ३ सय ९२ रुपयाँ, अल्या ५० लाख रहेको र बजेट घाटा तथा अपुग रकम २ करोड ७३ लाख २१ हजार ९ सय ६८ गरि कुल ७१ करोड २० लाख ३० हजारको बजेट पारित गरेको बताए ।
जस मध्ये नगर विकासको लागि २० करोड ७२ लाख र चालु खर्चको लागि १२ करोड विनियोजन गरिएको बताए । न्यौपानेले नगर विकास बजेट मध्ये पूर्वाधार विकासका लागि ५८ प्रतिशत, सामाजिक विकासका लागि १० प्रतिशत, आर्थिक विकासका लागि २२ प्रतिशत, वातावरण तथा विपद व्यवस्थापन १० प्रतिशत विनियोजन गरिएको बताए । नगरसभाले गरेका निर्णयहरु सार्वजनिक गर्दै न्यौपानेले सातौं नगरसभाले महिला हिंसा निवारण कोष सञ्चालन नियमावली २०७७, मेलमिलाप कार्य सञ्चालन तथा व्यवस्थापन कार्यविधी २०७७ र आपतकालिन बालउद्दार कोष सञ्चालन नियमावली २०७७ पारित गरेको जानकारी दिए । पत्रकारहरुले राखेको जिज्ञासा मेटाउँदै उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले नगरपालिकाले सबैलाई समेट्दै समानुपातिक विकासको अवधारणा अनुसार अघि बढेको बताए । उनले नगर सभामा विद्येयकहरु कार्यपालिकाका सदस्यहरु बिच छलफल गरेर नै ल्याउने गरेको बताए । घिमिरेले नगरले गरेका राम्रा कार्यहरु बाहिर आउन नसकेको भन्दै राम्रा नराम्रा क्रियाकलापलाई बाहिर ल्याएर सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे । पत्रकार सम्मेलनको सञ्चालन रामपुर ६ का वडा सचिव बासुदेव ढकालले गरेका थिए ।