गुल्मी । नेपाली समाजमा पछिल्लो समय विवाह,जन्म उत्सवका अवसरमा बढी नै फर्जुल खर्च गर्ने प्रचलन बढी रहेका बेला जिल्लाको एक परिवारले भने आफनो छोरीको विवाह वर्षगाठमा गरिने फर्जुल खर्च कटाएर विपन्नलाई सहयोग गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १ क्याम्पस रोड निवासी भेषराज रेग्मी र जमुना रेग्मीले आफनी अष्ट्रेलियामा रहेकी छोरी निलम रेग्मीको विवाहको वर्र्षगाठको अवसरमा विपन्न परिवारलाई सहयोग गरेका छन् ।
रेग्मी परिवारले अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका ७ मा विपन्न ७ घरपरिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । रेग्मी परिवारको जन्म घर अर्घाखाँची काउले (भुग) मा ढिकुराका ३ घर र काउलेका ४ घरलाई खाद्यान्न सहयोग गरेको परिवारले जनाएको छ । रेग्मी परिवारका आमा, श्रीमान श्रीमतीले घरमै पुगी सहयोग सामग्री हस्तातरण गरेका थिए । सहयोग हस्तारतण गर्दै रेग्मी परिवारका भेषराज रेग्मीले पछिल्लो समय मानव जातिलाई कोरोना भाइरस (कोभिड–१९) को कारणले समस्या पारिरहेकाले हुँदा खाने वर्गको निम्ति केहि राहत होस भन्ने उद्देश्यले सहयोग गरेको बताए । उनले अहिले कोरोना भाइरसले दैनिक ज्याला मजदुरी गर्ने वर्ग निकै मारमा परेकाले छोरीको विवाहको वर्षगाठको अवसरका हुने खर्चलाई राहत स्वरुप सहयोग गरेको बताए । रेग्मी परिवारले केही दिन अघि रेसुङ्गा नगरपालिका १० को सिमिचौरमा बस्दै आएकी बिमला कुँवरलाई समेत घरयासी सामग्रीहरु सहयोग गरेको थियो ।